रास्वपा पार्टी कार्यालयमा नक्कली उजुरीकर्ता खडा गरिएको गृहमन्त्रीको आरोप, कारबाही गर्ने चेतावनी

लोकपथ
2.6k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली पीडित खडा गरेर आफ्नोविरुद्ध उजुरी गर्ने प्रयत्न गरिरहेको आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपक्षीहरुमाथि कटाक्ष गर्दै आरोप लगाएका हुन् ।

विपक्षी दल रास्वपाले वेल घेरेर विरोध गरिरहँदा गृहमन्त्री लेखकले भने रोस्टम पुगेर सम्बोधन गरेका छन् । उनले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसको विरोध जनाए । साथै रास्वपाले आफ्नो पार्टी कार्यालयमा आफूमाथि उजुरी गर्न नक्कली पीडितहरु खडा गरिएको र उनीहरुलाई खोजीखोजी कारबाही गरिने चेतावनी दिए ।

‘मलाई थाहा छ, माननीय सदस्यहरु केही पार्टीका कार्यालयहरुमा नक्कली तथाकथित पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा तथाकथित जाहेरीहरु लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरोखका छन् । कुन पार्टी कार्यालयमा लेखिएको छ, त्यो मलाई जानकारी भइसकेको छ । यस्ता किर्ते जालसाँज र अमर्यादित काम गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु । र यस्ता अपमानजनक कार्यहरु, यस्ता कीर्ते जालसाझ गरेर तथाकथित कीर्ते जालसाझीपूर्ण ढंगले नक्कली पीडित खडा गर्ने मानिसहरुको पत्ता लगाएर कारबाही गरिनेछ, म यो पनि निवेदन गर्न चाहन्छु,’ गृहमन्त्री लेखकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?