काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको आरोप लगाएका छन् ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले यस्तो आरोप लगाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक अध्यागममा भइरहेको बद्मासीबारे सूचना दिए पनि गृह मन्त्रालयले बेवास्ता गरेको आरोप उनको आरोप छ ।
आफ्नो संलग्नता लुकाउनको लागि गृह मन्त्रालयले अनुसन्धानमै रहेका कर्मचारीको जिल्ला सरुवा गरेको समेत आरोप लगाए । उनले अध्यागमनको अनियमितता केवल राष्ट्रिय नभई अन्तर्राष्ट्रिय स्तरमै भएको दाबी गर्दै छानबिन समिति गठनको माग गरे । उनले समाचारमा माध्यमहरूमा भिजिट भिसा प्रकरणबारे पर्याप्त प्रमाणहरू आइसकेको उल्लेख गर्दै गृह नेतृत्वमा लुटतन्त्र मच्चाइएको आरोप लगाए ।
उनले भने, ‘अख्तियारले अध्यागमनमा बदमासी भइरहेको छ त्यहाँ ध्यान देऊ भनेर गृह मन्त्रालयलाई ९/९ पटक पत्र काट्दासम्म गृह मन्त्रालय कहाँ थियो । जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरूलाई लुकाउनको लागि रातारात किन तानियो ? यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने कर्मचारीलाई संरक्षण दिनको लागि किन तानियो ? अर्को कुरा, कर्मचारीलाई तानिसकेपछि तामेलीमा मन्त्रालयमै राख्न सक्थ्यो । त्यसलाई रोल्पा, डोल्पा सरुवा गरेर अनुसन्धान प्रभावित गर्न खोजेको पनि प्रमाणित छ । त्यसैले छापामा पर्याप्त समाचार आइरहेको छ । हरेक दिन यथेष्ट प्रमाणहरू आइसके । यो सबै तपाईँको नेतृत्वमा भएको लुटतन्त्र हो । यो हाम्रो मात्र आवाज हैन । सेटिङ त अन्तर्राष्ट्रिय नै भइसकेको रैछ । त्यस कारण यसको छानबिन गर्नको लागि छानबिन समिति र ठगिएकाहरूले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी छ ।’
भिजिट भिसा प्रकरणको आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने समेत झाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया