नेपाल विद्युत् प्राधिकरण कठिन अवस्थामा छ : हितेन्द्रदेव शाक्य

लोकपथ
2k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् प्राधिकरण कठिन अवस्था रहेको बताएका छन् ।  

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३औँ महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्था घाटामा गएर नभई कमजोर संरचनाका कारण सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न कठिनाइ भइरहेको बताए । 

शाक्यकारअनुसार अहिले प्रसारण र वितरण प्रणालीले धान्न सकिरहेको छैन । कमजोर प्रसारण प्रणाली र वितरण प्रणालीले गर्दा प्राधिकरणलाई कठिन अवस्थामा पुर्‍याएको हो । शाक्यले विद्युत् पूर्वाधारमा भएको लगानी कमजोर रहेको बताउँदै पर्याप्त लगानीको खाँचो रहेको बताए । 

उनकाअनुसार विगतमा जति लगानी भयो त्यसले पुगेन । ३ हजार ५ सय मेगावाट हुँदा समस्या छ २८ हजार ५ सयको लक्ष्य पूरा गर्न खोज्दा के होला ? उनले प्रश्न गरे । 

शाक्यले आगामी दिनमा विद्युत् पूर्वाधारमा लगानी नगरे ऊर्जा क्षेत्र नै समस्यामा फस्ने खतरा रहेको संकेत गरे । ऊर्जा क्षेत्रका लागि भए पनि विद्युत् प्राधिकरणलाई बचाइराख्नुपर्ने बताउँदै उनले विद्युत् प्राधिकरण खण्डीकरण हुने हो भने ऊर्जा क्षेत्रको भविष्य नै धरापमा पर्ने खतरा रहेको बताए ।

शाक्यकारअनुसार विद्युत् प्राधिकरण निजी क्षेत्रको मेरुदण्ड हो । कम्तीमा १० हजार मेगावाट नभएसम्म विद्युत् प्राधिकरणलाई सबलीकरण गर्नुपर्छ । 

कार्यकारी निर्देशक शाक्यले भने,‘नेपाल विद्युत् प्राधिकरण अहिले कठिन अवस्थामा छ । प्राधिकरण घाटामा गएर कठिन परिस्थिति आएको होइन । नेपाल विद्युत् प्राधिकरण अघि बढ्नुपर्ने बाध्यात्मक स्थितिमा उभिएको छ । सरकारले २८ हजार ५ सय उन्नति प्रगतिको लक्ष्य तोकेको छ । अहिले ३ हजा ५ सयलाई हाम्रो प्रसारण र वितरण प्राणालीले धान्न सकिरहेका छैनौँ । हाम्रो प्रणाली त्यति कमजोर छ । अहिले ट्रिप भइरहेको छ । आज एउटा रुख ढल्यो एउटा ट्रासमिसन लाइन  ट्रिप भयो ।  सिस्टम ट्रिप भइरहेको छ । त्यो किन बलियो बनाउन सकेनौँ ? हाम्रो आर्थिक अवस्था, हामीले गर्नुपर्ने लगानी पर्याप्त गर्न सकेनौँ ।’

नेपाल अल्पविकासशिल मुलुकबाट विकशील मुलुकमा जाँदै गर्दा सस्तो व्याजदरमा ऋण पाउन समेत कठिन हुने अवस्था रहेकाले प्रसारण लाइनदेखि वितरण लाइन बनाउन चुनौती रहेको छ । वैदेशिक सहयोग नआउने हो भने विद्युत् प्राधिकरण एक्लैले यो क्षेत्रलाई धान्न सक्दैन । यसमा निजी क्षेत्रले समेत विद्युत् प्राधिकरणलाई सघाउनुपर्ने शाक्यले बताए । शाक्यले व्यक्तिगत स्वार्थ छाडेर प्राधिकरणलाई अघि बढाउन चाहेको समेत जिकिर गरे । उनले सबैलाई साथ दिन समेत आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?