काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठुलो पुँजी भएको बताएका छन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतीहरूलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पहुँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताए । गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखा परेको भन्दै यस वर्ष नै सुधार आउने बताए ।
सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तीर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने जिकिर गरे । थोरैमा ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने स्थिति पुर्याउने र हरेक वर्ष नतिजा सुधार गर्दै लैजाने बताए । विद्यार्थीलाई सफलताको बाटो हिँडाउने आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ ।
उनले भने, ‘शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठुलो पुँजी हो । त्यस कारण शिक्षाको सवालमा सरकार सचेत छ । कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतीहरूलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पहुँचको शिक्षा दिन सकिन्छ । त्यस कुरामा लागेको छ । हामीले असाधारण उन्नति पनि गरेका छाैँ । गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखा परेको छ । प्रशंसा गर्न नसकिने स्थिति त्यसमा यस वर्ष नै सुधार आउनेछ । किनभने हामीले केही प्रभावकारी कदमहरू चालेका छौँ । जसले ४८ प्रतिशत उत्तीर्ण जस्तो नाजुक अवस्था यस वर्ष हुनेछैन । यस वर्ष ६०, ६५ प्रतिशत हामी कमसेकम पुर्याउनेछौँ । उत्तीर्णको स्थिति हरेक साल विकास गर्दै लैजान्छौँ । विद्यार्थीलाई सफलताको बाटो हिँडाउने हाम्रो उद्देश्य रहनेछ ।’ प्रधानमन्त्री ओलीले रोजगारीका अवसर खोज्ने नभई सिर्जना गर्ने शिक्षातर्फ लैजान खोजिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया