दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

लोकपथ
1.1k
Shares
फाइल तस्बिर

काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई आज डिल्लीबजार कारागार पठाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार, प्रसाईंसहित डण्डपाणि रेग्मी, सुशील बराल, कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही र केशव बस्नेतलाई डिल्लीबजार कारागार पठाइएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति प्रसाईंसहितका ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको थियो । काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो ।

तीनकुने घटनामा प्रतिवादीमध्ये ३९ जना प्रतिवादी हिरासतमा थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो ।

उनीहरूमाथि ११ जेठमा मुद्दा दायर भएको थियो । ११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो । आपराधिक उपद्रवको मुद्दा खेपेकाहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन् ।

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?