काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्यूनीकरणका लागि तीन तहको सरकार बिच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताएकी छन् ।
सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेड क्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।
संकटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका समेत महत्त्वपूर्ण हुने उनको भनाइ छ । संघ, प्रदेश र स्थानीय सरकार बिच नीति निर्माणमा मात्र नभई विपद्को जोखिम न्यूनीकरण र उद्धारमा पनि समन्वय अपरिहार्य रहेको बताइन् ।
उनले भनिन्, ‘स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार र स्थानीयलाई समस्या पर्यो भने सम्झिने सरकार पनि हो । जोखिममा परेका नागरिकको उद्धार गर्नको लागि स्थानीय सरकारको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ । संविधानको भावनाअनुरूप तीन तहको सरकार र सरकारका विभिन्न निकायहरूबिच सहकार्य र सहअस्तित्व हुन निकै जरुरी पनि छ । नीति निर्माणमा मात्र नभई विपद्जन्य जोखिममा परेका नागरिकको उद्धारमा पनि सहकार्य र समन्वय हुन जरुरी छ । त्यसको एउटा उदाहरण आजको कार्यक्रम हो । विपद्जन्य घटना हुनु अगावै दक्ष जनशक्ति तयार हुनु हामी सबैको आवश्यकता हो । विपद् प्रतिकार्यको दक्ष जनशक्तिको अभावमा धेरै क्षति भयो भन्ने कुरा सुन्न नपरोस् भन्नको लागि आज नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्टाउट, रेडक्रस र महानगर बिचको समन्वयमा तालिम प्रदान गरिएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया