दिलभुषण पाठक प्रकरणबारे बोलिन् परराष्ट्रमन्त्री डा. राणा

लोकपथ
4.2k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पत्रकार दिलभुषण पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी दिनुको कारणबारे स्पष्टीकरण दिएकी छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री राणा पुत्र जयवीर देउवाको चरित्र हत्या गरेको भन्दै उनीहरुले पत्रकार पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका थिए । सोही आधारमा अदालतले पक्राउपुर्जी जारी गरेको र अहिले प्रहरीले पत्रकार पाठकलाई खोजीरहेको छ ।

सञ्चारको नियामक निकाय प्रेस काउन्सिलमा नगई प्रहरीमाथि पक्राउ गर्न दबाब दिएको भन्दै आलोचना भइरहेको छ । सो बारे स्पष्टीकरण दिँदै डा. राणाले पाठकले सञ्चालन गरिरहेको यूट्युब च्यानल कतै दर्ता नभएको भन्दै आफूहरुले साइबर ब्यूरोमा उजुरी दिएको बताएकी हुन् ।
‘उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ,’ उनले सामाजिक सञ्जालमा लेख्दै भनेको छ, ‘उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्द अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो ।’

त्यसो त सोही विषयलाई लिएर डा. राणाले नागरिक र रिपब्लिका मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई समेत धम्की दिएको आरोप लगाइएको छ । नागरिकले समाचार नै प्रशासन गरेर ज्ञवालीमाथि धम्की दिएको आरोप लगाएपछि परराष्ट्रमन्त्री राणाको चौतर्फी आलोचना समेत भइरहेको छ ।

सो बारेमा स्पष्टीकरण दिँदै राणाले भनेकी छन्, ‘नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु । हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासय सहित सामाजिक संजालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो ।’

त्यस्तै उनले आफू निरन्तर पाठक रहेको सञ्चार माध्यमले गलत सूचना राखेर समाचारहरु प्रकाशन गरेको भन्दै सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन र प्रशारण गर्न आग्रह गरेको समेत स्पष्ट पारेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् :

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु । हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासय सहित सामाजिक संजालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो । उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ । उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्द अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो । यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ । बरु मैले म आफु नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ। तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ । नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढि संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन मिल्दैन। म सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा छ । तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुदैन भन्ने मेरो धारणा हो । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो । स्वभावैले मिडिया पिडितमैत्री हुन्छ भन्ने मेरो बुझाई हो। यसैका आधारमा राखिएका कतिपय धारणारुलाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?