काठमाडौं । इजरायली हवाई आक्रमणमा इरानको शक्तिशाली सुरक्षा निकाय इस्लामिक रिभोलुसनरी गार्ड कोरका कमान्डर इन चिफ मेजर जनरल हुसेन सलामी मारिएका छन् ।
शुक्रबार बिहान इरानस्थित आइआरजिसीको मुख्यालयमाथि इजरायलले आक्रमण गर्दा सलामी मारिएका हुन् ।
इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै प्रमुख अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले सलामीको मृत्यु पुष्टि भएको बताएका हुन्।
शुक्रबार बिहान गरिएको हवाई आक्रमणमा आइआरजिसीको मुख्यालयसहित इजरायलले इरानका छ वटा प्रमुख सैन्य स्थानहरू र नतान्जस्थित आणविक भट्टीलाई लक्ष्य बनाएको बताइएको छ।
बिहानैदेखि आइआरजिसीको मुख्यालय क्षेत्रबाट बाक्लो धुवाँ निस्किरहेको दृश्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन्। आक्रमणमा अन्य उच्चपदस्थ सैन्य अधिकारीहरूको पनि मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ।
इरानमा दुई प्रकारका सेना छन् । पहिलो नियमित सेना अर्थात् आर्टेस आर्मी र अर्को इस्लामिक रिभोलुसनरी गार्ड कर्पस् अर्थात् आइआरजीसी । पहिलो सेना इरानको नियमित सेना हो जसले सीमा सुरक्षा र सेनाको नियमित कार्य गर्दछ । दोस्रो सेना अर्थात् आइआरजीसी भने आन्तरिक सुरक्षा, इस्लाम धर्मको रक्षा आदि काममा खटिएको हुन्छ ।
अमेरिकी सरकारले सन् २०१९ मै आइआरजीसीलाई आतंकवादी संगठनका रुपमा घोषणा गरेको थियो ।
यस घटनाले इरान–इजरायलबीचको पहिल्यै तनावग्रस्त सम्बन्धलाई थप चर्काउने देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया