संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेट र विधेयकमाथि छलफल हुने

लोकपथ
329
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दुवै सदनमा महत्वपूर्ण विधेयकहरू, बजेट प्रस्ताव र विभिन्न समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउनेछन्। साथै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी प्रतिवेदन, २०८२ सभा समक्ष पेस गर्नेछन्।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र खर्चको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। यससँगै बजेट छलफलको सुरुवात आजैदेखि हुने भएको छ।

त्यसै गरी, राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि तय गरिएको छ। बैठकमा स्वास्थ्य तथा जनसंख्या तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ पेस गर्नेछन्।

साथै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल हुने र त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?