झगडिया महिलालाई रात बिताउन प्रस्ताव गरेपछि रसुवाका न्यायाधीश परिषद् तानिए

लोकपथ
98.7k
Shares

काठमाडौं । जिल्ला अदालतमा मुद्दा खेपिरहेकी एक महिलालाई रात बिताउन प्रस्ताव गरेपछि रसुवाका न्यायाधीश न्याय परिषद्मा तानिएका छन् । महिलाको तर्फबाट परिषद्मा उजुरी परेपछि न्यायाधीश भुवनसिंह थापा न्याय परिषद्मा तानिएका हुन् ।

बहुविवाहको कसुरमा मुद्दा खेपिरहेकी एक महिलालाई न्यायाधीश थापाले रात बिताउन प्रस्ताव गरिएको पाइएको छ ।न्यायाधीश थापाले महिलालाई म्यासेज पठाएर तथा फोन समेत गरी रात बिताउन प्रस्ताव गरेको भन्दै उनी विरुद्ध न्याय परिषद्मा उजुरी परेको हो ।

विचाराधीन मुद्दालाई प्रभाव पार्ने र जिताउने गरी सरकारी वकिलसमेतको संलग्नतामा न्यायाधीशले झगडियासँग सम्पर्क गरेको उजुरी परेको परिषद् श्रोतको दाबी छ । उजुरीमाथि प्रारम्भिक छानबिन हुँदा सम्पर्क गरेको पाइएपछि उनलाई न्याय परिषद्मा तानेर अनुसन्धान सुरु गरिएको हो ।

सरकारी वकिल पनि छानबिनमा तानिए
सोही घटनामा जोडिएका रसुवाका सरकारी वकिल पनि छानबिनमा तानिएका छन् । ती महिलासँग अनैतिक व्यवहारमा जोडिएको पाइएपछि महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय, रसुवाका जिल्ला न्यायाधिवक्ता विमल थापालाई पनि महान्यायाधिवक्ता कार्यालयमा बोलाएर सोधपुछ गरिरहेको छ ।

सुरुमा ती पीडित महिलाले माइती नेपालमा यस सम्बन्धमा उजुरी दिएपछि माइती नेपालले नै महान्यायाधिवक्ता कार्यालय र न्याय परिषद्मा उजुरी गरेको थियो । त्यसपछि महान्यायाधिवक्ता कार्यालयले जिल्ला न्यायाधिवक्ता विमल थापालाई तत्काल जिम्मेवारीबाट हटाई महान्यायाधिवक्ता कार्यालयमा बोलाएको हो ।

पीडित महिला होस्टाइल
महिलाले सुरुमा माइती नेपालमा उजुरी दिँदा जिल्ला न्यायाधिवक्ता विमल थापाले समेत यौन दुर्व्यवहार गरेको भनी उजुरी दिएकी थिइन् । तर बिहीबार पीडित महिलालाई पनि महान्यायाधिवक्ताको कार्यालयमा बोलाएर छलफल गर्दा महिलाले विमल थापाले केही गरेको होइन भनेर होस्टायल भएकी छिन् । जिल्ला न्यायाधिवक्ता थापालाई काठमाडौं झिकाएपछि थापाले महिलालाई दबाब वा प्रभावमा पारेर होस्टायल गराएको आरोप लागेको छ ।

अपडेट : समाचार प्रकाशनपछि रसुवाका जिल्ला न्यायाधीश भुवनसिंह थापा लोकपथको सम्पर्कमा आएका छन् । उनले महिलाको आरोप झूटो भएको र आफ्नो कुनै गल्ती नभएको बताए ।

न्यायाधीश थापाले भने, ‘ममाथि लागेको आरोप झूटो हो । महिलाले मुद्दाबाट छुटकारा गरिदिन आग्रह गरेकी थिइन् । उनी बहुविवाह मुद्दाका प्रतिवादी हुन् भने उनका पति पटके कसुरदार हुन् । यस्तो अवस्थामै चार महिनामै मुद्दाको फैसला हुने भन्ने कुरा पनि भएन । मैले समयमै मुद्दाको फैसला नगरिदिएको कारण ममाथि त्यस्तो आरोप लगाइएको हो, मेरो कुनै दोष छैन ।’

अनि त्यो अडियो र म्यासेज के हो त भन्ने लोकपथको प्रश्नमा न्यायाधीश थापाले भने, ‘त्यो अडियो र म्यासेज मेरो होइन, सरकारी वकिलको हो ।’

न्यायाधीश थापाले महिलाले उजुरी फिर्ता लिन खोजेको भए पनि न्याय परिषद्ले उजुरी फिर्ता लिन नदिएपछि आफूलाई परिषद्मा तानिएको बताए । उनले भने, ‘महिलाले उजुरी फिर्ता लिन खोजेकी थिइन्, तर न्याय परिषद्ले फिर्ता लिन दिएन । त्यसपछि आज उजुरी फिर्ताको निवेदन महिलाले हुलाकमार्फत पठाएकी छिन्, अब उजुरी फिर्ता हुन्छ होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?