संघीयता आवश्यक छ तर बोझिलो भयो : स्वास्थ्यमन्त्री पौडेल 

लोकपथ
245
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा संघीयता आवश्यक रहेको तर बोझिलो भएको बताएका छन् । बिहीबार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको प्रदेश स्तरीय समीक्षा’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

उनले आफू संघीयताको विरोधी नरहेको बताउँदै मन्त्री मात्रै हुने संघीयताको अर्थ नभएको बताए । उनले ५०० बढी सांसद हुने संघीयता नरहेको समेत जिकिर गरे । उनले तीन तहको सरकार भए पनि तीन देशको सरकार भएको जस्तो देखिएको बताए । 

स्रोत संघबाट चाहिने र अन्य विषयमा सहकार्य नगरे पनि नहुने भाव प्रदेश र स्थानीय तहमा देखिएको उनको भनाइ छ ।  उनले संघीयता भित्रै तीन तहका सरकारहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले तीनै तहको सरकार एउटै नागरिकको सेवा गर्न बनेको बताउँदै संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य आवश्यक रहेको बताए ।  

उनले भने, ‘हाम्रो देशमा संघीयता आयो, यो तिन तहको सरकार छ नि तिन देशको जस्तो छ । मिलेर केही पनि काम गर्नहुन्न भन्ने जस्तो छ । स्रोत चाहिँ सङ्घबाट चाहियो, अरू सहकार्य नगरे पनि हुन्छ जस्तो छ । संघीयता भित्र पनि कतिपय कुराहरू मिलेर मात्रै गर्नुपर्ने हुन्छ, जस्तो : स्वास्थ्य । जनकपुरको नागरिक पालिकाको पनि नागरिक हो, मधेस प्रदेशको पनि नागरिक हो र नेपाल देशको पनि नागरिक हो । तीन तहको नागरिक छुट्टाछुट्टै हुन्छ ? यो तीन तहको सरकार एउटै नागरिकको सेवा गर्न बनेको होला नि ? त्यसैले यसमा सहकार्य गर्न आवश्यक छ । यसमा संघीयता विरोध कुरा गर्‍यो भन्ने सुनिन्छ तर म संघीयता विरोधी हुँदै होइन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा यहाँहरूले सुन्नुभएको छ, संघीयता चाहिन्छ, तर यो बोझिलो भयो । मन्त्री मात्रै हुने संघीयताअर्थ छैन । यो ५०० जति सांसद हुने संघीयता अर्थै छैन ।’ उनले अहिले भइरहेको चालु खर्चमा आधा घटाउन सक्नुपर्नेमा जोड दिँदै आधा घटाउ नसके मात्रै संघीयता चल्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?