काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको आन्दोलनको जारी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्र निर्माणमा स्व. श्री ५ महेन्द्रको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कतिपयलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा रहेको बताउँदै केही व्यक्ति विशेषले चाहँदैमा जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउने नसक्ने बताए ।
उनले आन्दोलन असफल भएको वा तुहिएको भन्ने नसोच्न समेत आग्रह गरे । अध्यक्ष थापाले केही कमी,कमजोरीहरू रहे पनि त्यसलाई सच्याउँदै नयाँ ढङ्गबाट आन्दोलनलाई अगाडी बढाउने र निर्णायक अवस्थामा पुर्याउनेतर्फ संयुक्त जनआन्दोलन समिति आगामी दिनमा सशक्त रूपले आउने जिकिर गरे । उनले जनआन्दोलन समितिमा रहेका दल र समूहहरू एकताबद्ध रहेको बताउँदै उक्त एकतालाई कसैले चाहेर पनि टुटाउन नसक्ने दाबी गरे ।
उनले भने, ‘कतिपय साथीहरूलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा छ । आन्दोलन अब असफल भएको हो कि, तुहिएको हो कि भन्ने चिन्ता रहेको हामीले पाएका छौँ । म बढो विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, केही व्यक्ति विशेषले चाहँदैमा, नचाहँदैमा अब यो जनताको परिवर्तनको चाहानालाई कसैले तुहाउन सक्दैन । आन्दोलन जारी छ । हाम्रा केही कमीकमजोरीहरू रहे, त्यसलाई सच्याउँदै नयाँ ढङ्गबाट आन्दोलनलाई अगाडी बढाउने र निर्णायक अवस्थामा पुर्याउने तर्फ संयुक्त जनआन्दोलन समिति आगामी दिनमा सशक्त रूपले आउँछ । कोही कसैलाई भ्रम पनि नहोस् । यो संयुक्त जनआन्दोलन समितिमा रहेका केही दल र केही समूहहरू बिस्तारै अलग हुन थालेको हो कि, निष्क्रिय हुन थालेको हो कि, सम्पूर्ण यो आन्दोलन समितिमा रहेका दल र समूह रु एकताबद्ध रहेका छन् । यो एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन । त्यो अहिलेको यथार्थ हो ।’ उनले परिवर्तन चाहने राष्ट्रवादी, देशभक्त र प्रजातान्त्रिक शक्तिहरूलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया