काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदन सुचारु हुनेबारे अनविज्ञता प्रकट गरेका छन् ।
बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो अनविज्ञता प्रकट गरेका हुन् ।
केही दिनअघि संसद्को गतिरोध केही दिनभित्रै अन्त्य हुने बताएका अध्यक्ष दाहालले दुई बजे बितिसक्दा समेत संसद् सुचारु हुने वा नहुने भन्नेबारेमा अनविज्ञता प्रकट गरे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् । करिब दुई हप्ता बित्न लाग्दा समेत सदन सुचारु हुन सकेको छैन । जसबारेमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा अध्यक्ष दाहालले अब पुनः संसद् भवनमा विपक्षी दलहरूको बैठक बस्ने र निर्णय गर्ने बताए ।
उनले भने, ‘सदनको बारेमा छलफल हो । अहिले फेरि हामी प्रतिपक्षीको बैठक बस्दै छौँ । प्रतिपक्षको बैठक बसिसकेपछि थाहा हुन्छ के गर्ने भनेर ।’
अध्यक्ष दाहालले प्रतिपक्षको बैठकपछि मात्रै सदन सुचारु हुने वा अवरोध कायमै रहने भन्ने टुंगो लाग्ने र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग संसद्को अवरोधको बारेमा नै छलफल भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया