संसद् बैठकअघि विपक्षी दलको बैठक बस्दै, कांग्रेस–एमाले बैठकमा माओवादी पनि सहभागी हुने

लोकपथ
1.7k
Shares

काठमाडौं । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गर्दै आएको संसद् अवरोध हटाउन मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीच छलफल हुने भएको छ । 

प्रतिनिधिसभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकअघि तीन ठूला दलहरुबीच छलफल हुन लागेको हो । 

छलफल २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा हुने भएको छ । ‘संसद्को गतिरोध अन्त्यका लागि कांग्रेस, एमाले र माओवादीबीच छलफल हुँदैछ । दुई बजेपछि संसद् भवन नयाँ बानेश्वरमा बैठक गर्ने तय भएको छ,’ कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने । 

आजै प्रतिपक्षी दलहरूको पनि बैठक बस्ने भएको छ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले पार्टी अध्यक्ष प्रचण्ड काठमाडौं फर्किएपछि पहिला विपक्षी दलहरूसँग र त्यसपछि कांग्रेस–एमालेसँग बैठक बस्ने बताए । 

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेबाट संसद् बैठकमा अवरोध गर्दै आएका छन् । 

प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेका छन् ।  सत्तापक्ष भने संवैधानिक निकाय अख्तियारले छानबिन गरिरहेको विषयमा छानबिनका लागि समानान्तर समिति बनाउन आवश्यक नरहेको बताउँदै आएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?