काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीविकुमार नेपालले देशभित्र समुचित विकास भएमा वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताएका छन् । बिहीबार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगभर्नर नेपालले यस्तो बताएका हुन् ।
जनशक्तिको पलायनलाई केवल नियमनले मात्र रोक्न नसकिने बताउँदै देशमा स्थायित्व, अवसर र विश्वसनीय वातावरण निर्माणको खाँचो रहेको उनको भनाइ छ ।
सुन्दर जीवनको कल्पना गर्दै वर्षेनी लाखौँ नेपालीहरू पलायन हुने गरेको उल्लेख गर्दै उनीहरूलाई स्वदेश फर्कने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले शिक्षा आर्जन तथा कामको सिलसिलामा विदेश जाने तर नफर्कने क्रम बढेको उल्लेख गर्दै यसबारे सरकार गम्भीर बन्न जरुरी रहेको बताए ।
उनले भने, ‘हामीले विकास देशभित्र गर्न सक्यौँ भने कसैलाई रोक्नु पर्दैन, उनीहरू आफैँ फर्किन्छन् । यो संसारमा कोही पनि फकाएर रोकेर आउनेवाला छैन । आफ्नो सुन्दर भविष्यको लागि गएको जमात हो । देशमा यस्तो वातावरण बनाउनुपर्यो कि उनीहरू फर्केर आओस् । भारतमा राजीव गान्धी प्रधानमन्त्री हुँदा खेरी जति बेला त्यहाँको आर्मीले कु गर्यो । पछि भारतले आफ्नो देशका नागरिक जुनसुकै देशमा भए पनि तपाईँहरूको सुरक्षा भारत सरकारले गर्छ भनिसकेपछि भारतको नीतिमै परिवर्तन भयो । पछि संसारभर रहेका भारतीय मूलका व्यक्तिहरूले भारततिर हेर्न थाले । यसको मतलब देशले आहन पनि गर्ने, नीतिगत परिवर्तन पनि गर्ने र उनीहरूलाई राष्ट्रप्रतिको प्रेम अनुभव पनि हुने नीति अपनाउनुपर्छ ।’
उनले अगामी आर्थिक वर्षको बजेट विगतको तुलनामा प्रगतिशील रहेको बताए । मुलुकको वर्तमान परिस्थितिको सामना गर्ने गरी बजेट आएको पूर्वगभर्नर नेपालको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया