केका लागि बन्यो ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ? 

लोकपथ
266
Shares

काठमाडौं । पछिल्लो समय नेपाली दर्शकको रुचि कस्तो सिनेमामा छ भनेर कसैले सोध्यो भने सायद अधिकांशले भन्छन् होला, इमोसनल सिनेमामा । किन भन्ने प्रश्न आयो भने जवाफमा उदाहरण प्रशस्तै छन् । जस्तै, ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’, ‘एन्जिला’, ‘ऊनको स्वीटर’ आदि । 

कमेडीबाट दर्शकहरू आफ्नै जिन्दगी र अनुभवमा घोलिएका कथाहरू बोकेका इमोसनल सिनेमातिर लहसिए । त्यसैले दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्दै आफूहरू आउन लागेको बताउँछन्, हिमाल न्यौपाने । अर्थात्, चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’का निर्देशक । 

‘हाम्रो सिनेमाको अनाउन्समेन्ट भिडियोदेखि अहिलेसम्म आइपुग्दा हरेक टिजरले यो प्रस्ट पारेको छ भन्ने लाग्छ । हामी आम नेपालीले भोगेको समस्या हाम्रो सिनेमाले देखाउनेछ,’ निर्देशक न्यौपाने भन्छन्, ‘भर्खरै आएको गीतले पनि यो प्रस्ट पारेको छ । आमालाई अगाध माया गर्ने छोराले आमालाई खुसी दिन गरेको संघर्ष र पराइको पाइला चालेको देखिन्छ ।’ 

आम निम्नवर्गीय र मध्यमवर्गीय नेपालीले भोगिरहेको समस्या आफ्नो सिनेमामा रहेको निर्देशक न्यौपाने बताउँछन् । आर्थिक रूपमा टकटकिएर झन् सानो भएको छोरोको ठूलो मन ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’मा देख्न पाइने उनले बताएका छन् । 

रुमानी कल्पनाको संसारभन्दा पनि यथार्थ घटानाहरुको बीचबाट दर्शकलाई यो पटक सिनेमा देखाउने रहरले आफूले यो चलचित्र बनाएको उनको भनाइ छ । 

‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ । विजय बराल यो सिनेमाको मुख्य कलाकार हुन् । निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ । छायांकन सकिएको यो चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ । यो चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो । 

चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । बलियो लाइन अप देखिएको चलचित्रमा विजयसँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको पनि अभिनय रहेको छ । 

पेपर क्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिम्सिना र चुडामणि सिवाकोटी रहेका छन् । 

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । 

दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ । 

अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो । २०८१ सालमा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?