सुरु भयो एमाले अखिलको मतदान, परिणाम आजै

लोकपथ
336
Shares

काठमाडौं । एमाले निकट अनेरास्ववियुको २४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बिहीबार बिहान १० बजेबाट मतदान सुरु भएको छ । 

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागु भएपछि पहिलोपटक निर्वाचन मार्फत नेतृत्व चयन हुन लागेको हो ।

मतदान  अपराह्न ४ बजेसम्म चल्ने छ । निर्वाचन समितिका अनुसार ४३ वटा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ ।

मतदान सकिएको १ घण्टा पछि मतगणना सुरु हुने र आज राति नै मतपरिणाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा विद्युतीय उपकरणमार्फत भइरहेको मतदानमा  निवर्तमान सचिवद्वय प्रकाश पौडेल र डा. सुजन कडरियाले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरु प्यानलगतरुपमा निर्वाचनमा होमिएका छन् । 

पौडेल समूहबाट महिला उपाध्यक्षमा आरती भट्टराई र खुला उपाध्यक्षमा विकास श्रेष्ठले प्रतिस्पर्धा गरिरहँदा महासचिवमा आरके रोमस र उपमहासचिवमा कमल जोशी प्रतिस्पर्धामा छन् । 

यस्तै, डा. सुजन कडरिया समूहबाट महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी, खुला उपाध्यक्षतर्फ राजकुमार ढकाल, महासचिवमा दीपक धामी र उपमहासचिवमा प्रेमिका शाहीले उम्मेदवारी दिएका छन् । 

९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १५१ सदस्यीय कमिटीका लागि ५०० जनाभन्दा बढी प्रतिस्पर्धामा छन् । जसमध्ये उपाध्यक्षमा ९, महासचिवमा ३, उपमहासचिवमा ३ र सचिवहरूमा ३६ जनाको उम्मेदवारी परेको छ ।

हालसम्म १८ जना निर्विरोध निर्वाचित भइसकेका छन् । महाधिवेशनमा १ हजार ५ सय ३४ जना प्रतिनिधि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?