काठमाडौं । माइकल चन्दको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’ मा अभिनेत्री सुपुष्पा भट्टले अभिनय गर्ने भएकी छिन् । उनले फिल्म निर्माण टिमसँग औपचारिक सम्झौता गरेकी छिन् ।
यो फिल्ममा सुपुष्पा महत्वपूर्ण भूमिकामा देखिने निर्माण टिमले बताएको छ । सुपुष्पाको पछिल्लो रिलिज फिल्म ‘फेरि रेशम फिलिली’ हो । यो फिल्ममा उनले निर्वाह गरेको भूमिकाले निकै तारिफ पाएको थियो ।
‘राम नाम सत्य’मा गरेको सम्झौतापछि सुपुष्पाले फिल्ममा आफ्नो भूमिका चित्तबुझ्दो भएर अनुबन्धित भएको बताएकी छिन् । फिल्ममा यसअघि नायिका दिव्या रायमाझी पनि अनुबन्धित भइसकेकी छन् ।
सुपुष्पामा साइन गरेपछि निर्देशक चन्दले भने, ‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी नायिका चाहिएको थियो । उहाँको अभिनय पनि अब्बल छ । कथाले मागेअनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुबन्धित गरेका हौँ ।’
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ मुख्य भूमिकामा फाइनल भइसकेका छन् ।
माइकल इन्टरटेनमेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ ।
फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माण पक्षको छ । एक्सन, लभ र सस्पेन्स कथामा यो फिल्म निर्माण हुनेछ ।
फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माण पक्षको भनाइ छ । फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन् । अब, केही कलाकार फाइनल गरेपछि लाइनअप पूरा हुने निर्माण पक्षले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया