काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग भयो भने कतिसम्म क्षति पुर्याउन सक्छ भन्ने कथाकी एक पात्र हुन्, अस्मिता सुनार (नाम परिवर्तन) । कक्षा ८ मा पढ्ने १५ वर्षीय एक अस्मिता सामाजिक सञ्जाल दुरुपयोगको सिकार बन्दा आत्महत्याको मुखसम्म नै पुगिन् । अस्मिताको अस्मिता नै सिद्ध्याउन लागेपछि उनले विद्यालय छाडिन्, खेलकुद छाडिन् र बन्द कोठामै आत्महत्याको प्रयाससमेत गरिन् । तर मर्न ‘दिन नआएकी’ अस्मिता भोटाहिटीस्थित साइबर ब्युरोको तदारुकताका कारण यति बेला आफ्नो दैनिकीमा फर्किएकी छिन् । आफूमाथि यातना दिने बंगलादेशी नागरिकमाथि बंगलादेशकै प्रहरीले हतकडी लगाएपछि अस्मिताले अहिले राहतको श्वास फेरिरहेकी छिन् ।
कसरी एउटी अस्मितालाई फिसिङ गरिन्छ र सामाजिक सञ्जालमा नाङ्गिन बाध्य बनाइन्छ भन्ने कुरा बुझ्न करिब ६ महिना पछाडि फर्कनुपर्ने हुन्छ ।
… जब स्कुलका सहपाठीहरू अस्मितालाई हेरेर हाँस्न थाले
गत मंसिर महिनाको सुरुवातमै अस्मिता पढ्ने विद्यालयका साथीहरू उनलाई देखेर हाँस्न थाले । आफ्नै साथीहरू आफूलाई देखेर किन हाँसिरहेका छन् भन्ने अस्मितालाई थाहा भएन । एक दुई दिन त्यसरी नै अस्मितालाई हेरेर साथीहरू हाँसिरहे पनि उनले साथीहरू आफूलाई देखेर हाँस्नुको कारण पत्ता लगाउन सकिनन् ।

तर अस्मितालाई देखेर साथीहरू हाँस्नुको कारण खुल्न लामो समय लागेन । अस्मिताकै कक्षाकी एक सहपाठीले आफ्नो मोबाइलमा आएको भिडियो देखाइन्, जहाँ अस्मिताको नग्न तस्बिर थियो । अनि उक्त तस्बिर कुनै चिने जानेका व्यक्तिले पठाएको नभई विदेशी नामबाट आएको थियो । तस्बिरसँगै आएको म्यासेजमा ‘हेर तिम्रो साथीको फोटो’ भन्दै पठाइएको थियो ।
जब अस्मिताले उक्त फोटो देखिन्, तब उनको होस हवास उड्यो । कक्षाकोठामा साथीले आफ्नै नग्न तस्बिर पठाइदिएपछि अस्मिता कक्षाकोठामा नबसी घर गइन् । त्यसपछिका करिब एक साता अस्मिता विद्यालयमै गइनन् ।
अनि विद्यालयमा अस्मिताको खोजी भयो
आफ्नो जेहेन्दार विद्यार्थी र कुशल खेलाडी विद्यालय आउन छाडेपछि विद्यालयले उनको खोजी गर्यो । अस्मिता किन विद्यालय आइनन् भनेर बुझ्दा विद्यालयका धेरै सहपाठी र पुरुष सहपाठीको मोबाइलमा समेत अस्मिताको अश्लील फोटो भएको म्यासेज आएको पत्ता लाग्यो । त्यसपछि विद्यालयले अस्मितालाई सम्झाएर विद्यालय ल्याउने कोसिस गर्यो, तर उनी विद्यालयमा आइनन् । सबै साथीहरूको मोबाइलमा आफ्नो फोटो पुगेकाले त्यो डिलिट नभएसम्म विद्यालय नआउने सन्देश अस्मिताले सुनाइन् ।
अनि खोजी भयो, साइबर ब्युरोको
अस्मिताको नग्न तस्बिर विद्यालयका विद्यार्थीमाझ पुगेको थाहा पाए लगत्तै उक्त विद्यालयले भोटाहिटीस्थित साइबर ब्युरोलाई खबर गरी सबै विद्यार्थीको मोबाइलबाट उक्त फोटो डिलिट गराइदिन र काउन्सेलिङ गर्न बोलाइयो । त्यसपछि साइबर ब्युरोबाट दुई जना अधिकृत नै गएर विद्यार्थीहरूलाई काउन्सेलिङ मात्रै गरिएन, सबै विद्यार्थीको मोबाइलबाट भिडियो डिलिट गराइयो । ब्युरोको टोलीले यति गराएपछि अस्मिता विद्यालय गइन्, तर पनि पहिलेजस्तो चङ्गा भइनन् ।
बरु यहीबिचमा अस्मिताका आफन्तको मोबाइलमा समेत अस्मिताको नग्न तस्बिरहरू पुग्यो । त्यसपछि अस्मिता आफ्नो एक साथीसँग भोटाहिटीस्थित साइबर ब्युरोमा गएर निवेदन दिइन् ।
बंगलादेशी नागरिक थिए ब्ल्याकमेलर, फेसबुकमा भएको थियो चिनजान
जब अस्मिता भोटाहिटीस्थित साइबर ब्युरोमा आएर पीडकबारे उजुरी दिइन्, पीडक विदेशी नागरिक रहेको खुल्यो । बंगलादेशी नागरिकले आफूमाथि मानसिक यातना दिइरहेको र नग्न तस्बिर पठाउन दबाब दिने गरेको, अनलाइनमा नबसे, नग्न तस्बिर नपठाए साथीभाइ र परिवारलाई पठाइदिने भनी धम्की दिने गरेको कुरा निवेदनमा उल्लेख गरिन् ।

साइबर ब्युरोले जाहेरी दिनुपर्ने र त्यसका लागि बुवा आमा वा उमेर पुगेको व्यक्ति आउनुपर्ने भएकाले उक्त फेसबुक प्रयोगकर्ताको खोजी गर्दै गर्ने तर कानुनी प्रक्रिया पूरा गर्न अभिभावक चाहिने भन्यो । तर अस्मिताले अभिभावक चाहिने भए निवेदन नै नदिने बरु थप पीडित नै भएर बस्ने बताइन् । घरमा बुवा आमाले थाहा पाएमा थप बेइज्जत हुने भएकाले केही नगर्ने भन्दै गइन् । तर बालबालिकाको विषय भएकाले साइबर ब्युरोले पीडकको खोजबिन भने सुरु गर्यो ।
निवेदनमा अस्मिताले आफूलाई पहिले बंगलादेशी नागरिक मोहम्मद जावेद ओमर भन्नेले ब्ल्याकमेल गरिरहेको भन्दै उसको मोबाइल नम्बरसमेत उपलब्ध गराइन् र फेसबुकको युआरएलसमेत दिइन् ।
माइनर अर्थात् बालबालिकापीडित भएको विषय भएकाले साइबर ब्युरोले तत्कालै उक्त फेसबुक युआरएलको लिंक पठाउँदै प्रयोगकर्ताको विवरण माग गर्यो ।
बालबालिका पीडित भएको विषय भएकाले फेसबुकको क्यालिफोर्नियास्थित कार्यालयले पनि तत्कालै उक्त फेसबुक प्रयोगकर्ताको विवरण उपलब्ध गरायो । विवरण उपलब्ध हुँदा उक्त फेसबुक प्रयोगकर्ता बंगलादेशी नागरिक मोहम्मद जावेद ओमर नै रहेको र उसकै मोबाइल नम्बर तथा इन्टरनेट सेवा प्रदायकको इन्टरनेट प्रयोगसमेत गरी ब्ल्याकमेल गरेको खुल्यो । साथै पीडक बंगलादेशको राजधानी ढाकाबाट २१० किलोमिटर टाढा रहेको खुलना राज्यको कालीगञ्जमा रहेको खुल्यो । साइबर ब्युरोले ती पीडकलाई पक्राउ गर्न बंगलादेशी प्रहरीको सहयोग लिन इन्टरपोलमार्फत पत्र पठाएको त थियो, तर कानुनी प्रक्रिया पूरा गर्न कठिन थियो र लामो समय लाग्दै थियो ।
जब ‘अब केही गर्नु परेन’ भनेर पीडितको फोन आयो
पीडित अस्मिताले दिएको निवेदनको आधारमा साइबर ब्युरोले फेसबुक प्रयोगकर्ताको विवरण माग गरी कारबाहीको प्रक्रिया त चलाएकै थियो, तर पीडित अस्मिता अभिभावक लिएर जाहेरी दिन भने आएकी थिइनन् । अभिभावकलाई पनि ल्याउनुपर्दा पोल खुल्ने र बेइज्जत हुने डरले पीडित आफ्नो मोबाइलसमेत अफ गरेर बसेकी थिइन् ।

तर एक दिन एकाएक ब्युरोकै एक अधिकारीको मोबाइलमा पीडित अस्मिताको फोन आयो । उनले ‘मैले न्याय पाइन, अब केही गर्नु परेन’, ‘मेरो बुवा र आमालाई पनि पीडकले फोटो पठाइदियो’ भन्दै मलिनो स्वरमा फोन गरेर राखिन् । पीडित अस्मिताको स्वर दबिएको थियो । केही अप्रिय घटनाको संकेत पाएको साइबर ब्युरोको टोली तत्कालै अस्मिता पढ्ने विद्यालयमा पुग्यो । विद्यालय र विद्यार्थीको सहयोग लिएर अस्मिताको घरमा पुग्दा अस्मिताले धारिलो वस्तुले आफ्नो हात काटेर आत्महत्याको प्रयास गरिसकेको अवस्थामा फेला परिन् । तत्कालै उनलाई उद्धार गरेर अस्पताल पुराइयो । उनको प्राथमिक उपचार भएपछि उनकी दिदीलाई बोलाएर घटनाबारे बताइयो ।
त्यसपछि के के भएको थियो भनेर अभिभावककै सामुन्ने सोधपुछ गर्दा अस्मिताले सुरुमा विदेशी नामबाट फेसबुकमा साथी बन्न रिक्वेस्ट आएको र रिक्वेस्ट स्वीकार गरिएको बताइन् । त्यसपछि बिस्तारै कुराकानी भएको र आफू ठुलो मान्छे भएको, गिफ्ट पठाउँछु, माया गर्छु भन्दै आफूलाई फकाएर आफ्नो फोटोहरू पठाउन भनेको सुनाइन् । सुरुमा सामान्य फोटोहरू पठाएको तर पीडकले सामान्य फोटोलाई नै तोडमोड गरी नग्न फोटो बनाएर नग्न फोटो र भिडियो नपठाए त्यही तस्बिर भाइरल गराइदिने भन्दै धम्की दिने गरेको बताइन् । पीडककै धम्कीकै कारण पछि आफूले बेइज्जत नहोस् भनेर नग्न फोटो तथा भिडियोहरूसमेत पठाउन थालेको अस्मिताले बयानमा बताइन् ।
अस्मिताले बयानकै क्रममा अन्तिमपटक समेत गरी तीन पटक आत्महत्याको प्रयास गरेको, तर कहिले आमाले थाहा पाएको कारण गर्न नसकेको त कहिले आफ्नै डरले अन्तिम अवस्थामा आत्महत्या नगरेको बयान दिइन् ।
पीडित डराएकी थिइन्, रातभर काउन्सेलिङ गर्यौँ : इन्स्पेक्टर खड्गी
साइबर ब्युरोमा कार्यरत इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार पीडित अस्मिताको उद्धार गरी ब्युरोमा ल्याउँदा उनी अत्यन्तै डराएकी थिइन् । उनलाई जीवन नै सकिएको जस्तो भान भएको थियो भने घर जानसमेत मानिरहेकी थिइनन् । पुस महिनामा घाइते अवस्थामै उद्धार गरिएकी अस्मितालाई घटना भएको दिन साँझ ५ बजे घरबाट उद्धार गरी अस्पतालमा उपचार गराएर ब्युरोमा ल्याएर राख्दा उनी कामिरहेकी थिइन् ।

अस्मिताकी दिदीसमेत कलेज पढ्ने विद्यार्थी भएको, बुवा गाउँमै बस्नुभएको र आमाले ठेलामा तरकारी बेच्ने भएकाले आर्थिक अवस्थासमेत कमजोर थियो । यस्तो अवस्थामा डर र जाडोले काँपिरहेकी अस्मितालाई ब्युरोको टिमले ज्याकेट किनेर लगाइदिई दिदीको तर्फबाट जाहेरी लिई घटना विवरण लियो । त्यस लगत्तै साइबर ब्युरोले बंगलादेशमा साइबर सेल हेर्ने प्रहरीको टिमलाई घटनाबारे जानकारी गराउँदै इन्टरपोलमार्फत पनि पत्र पठाएको र थप क्षति रोक्न तत्काल एक्सन लिइदिन आग्रह गर्यो । साथै अस्मितालाई काउन्सेलिङ गरी हामी तत्कालै उक्त व्यक्तिलाई पक्राउ गर्न लगाई कारबाही गराउँछौँ र फोटो तथा भिडियो डिलिट गर्न लगाउँछौँ भन्दै आश्वस्त पारेर आत्महत्या गर्नुहुँदैन भनी कन्भिन्स गराएर घर पठाएको इन्स्पेक्टर खड्गीले लोकपथलाई बताए ।
ट्रेनिङमा भेटिएका एक अधिकारीले गरे सहयोग, पक्राउ परे पीडक
साइबर ब्युरोले थप क्षति रोक्न पीडकलाई तत्काल पक्राउ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिई कारबाही गरिदिन आग्रह गरेकै भोलिपल्ट नै साइबर ब्युरोकै एक प्रहरी अधिकारीले तालिमका क्रममा भेटेका एक बंगलादेशका एक प्रहरी अधिकारीलाई सम्पर्क गरे । सिंगापुरमा साइबर क्राइमसम्बन्धी तालिमका क्रममा नेपाल प्रहरीबाट गएका अधिकारी र बंगलादेशबाट गएका प्रहरी अधिकारीको चिनजान नै यति बेला काममा आयो । बंगलादेशको चिटगाउँमा रहेका एक प्रहरी अधिकारीलाई घटनाबारे जानकारी गराउँदै पीडकलाई नियन्त्रणमा लिन आग्रह गरे । बंगलादेशमा रहेका ती प्रहरी अधिकारी आफू रहेको स्थानबाट ६० किलोमिटरभन्दा टाढा पुगी पीडक मोहम्मद जावेद ओमरलाई नियन्त्रणमा लियो । त्यसको जानकारी साइबर ब्युरोलाई दिई कार्यालयमा ल्याएपछि भिडियो कल गरेर कन्फर्म गराउने भनी खबर आयो ।
पीडक त्यही हो कि होइन भनेर कन्फर्म गराउन र पीडितलाई पीडक पक्राउ परेको जानकारी गराउन तथा उनलाई हौसला दिन साइबर ब्युरोले अस्मिता र उनको दिदीलाई पनि कार्यालयमै बोलायो ।
नेपाली समय अनुसार उक्त दिन साँझ ६ बजेको आसपास पीडकलाई बंगलादेशी प्रहरीले प्रहरी कार्यालयमा ल्याई पीडितलाई देखाएर ब्ल्याकमेल गर्ने यही हो भनी सोध्यो । अस्मिताले देख्ने बित्तिकै जावेदलाई चिनिन् र पीडक त्यही व्यक्ति रहेको बताइन् । अस्मिताले पीडकलाई सोधपुछका लागि मात्रै ल्याएको हो कि कारबाहीको लागि ल्याएको भनेर बंगलादेशी प्रहरीलाई हिन्दी भाषामा सोध्दै पीडकलाई हतकडी लागेको हेर्न चाहन्छु भनेर भनिन् । बंगलादेशमा हात पछाडि लगेर हतकडी बाँध्ने गरिएकाले पीडकलाई पहिले नै लगाइएको हतकडीसमेत अस्मितालाई देखाएपछि अस्मिताको अनुहारमा चमक आयो । अस्मिताले लामो श्वास तानिन्, अनि आफू ठुलो समस्याबाट मुक्त भएको महसुस गरिन् । अस्मिताले बंगलादेशी प्रहरीलाई नै अनुरोध गरी अधिकतम सजायको मागसमेत गरिन् र बंगलादेशी प्रहरीले अधिकतम सजाय गराउने प्रतिबद्धता जनाए ।
त्यसपछि एउटा युद्ध जितेको जस्तै गरी अस्मिता आफ्नो ज्यान जोगाइदिएकामा साइबर ब्युरोलाई धन्यवाद भन्दै बाहिरिइन् । ब्युरोले पूर्ण रुपमा काउन्सेलिङ गरेपछि यति बेला अस्मिता पुनः विद्यालयमा गई पढ्ने गरेकी छिन् भने खेलकुदमा पनि नियमित अभ्यासमा गएको उनी अध्ययन गर्ने विद्यालयले जनाएको छ ।
उता बंगलादेशमा पक्राउ परेका पीडक मोहम्मद जावेद ओमरलाई भने बंगलादेशको कानुनअनुसार अन्तर्देशीय अपराधमा मुद्दा चलाइएको र पीडक साँढे ४ महिना जेलमा बसेर अहिले पनि अदालतमा तारेख धाइरहेका छन् ।
बंगलादेशी युवक भन्छन्, आवेगमा गल्ती गरेँ, गल्तीको सजाय भोग्छु’
साइबर बुलिङको कसुरमा बंगलादेशमा पक्राउ परेका पीडक मोहम्मद जावेद ओमरले आफूले गल्ती गरेकामा पश्चात्ताप रहेको र त्यसको सजाय भोगिरहेको बताए । लोकपथसँग कुराकानी गर्दै पीडक जावेदले आफूले आवेगमा आएर अपराध गरेको स्वीकार गर्दै पहिले नै साँढे ४ महिना जेलमा बसिसकेको र अहिले पनि मासिकरुपमा अदालतमा तारेख लिइरहेको बताए ।
जावेदले आफूहरूको पहिलो भेट र चिनजान फ्री फायर नामक गेममा भएको पछि फेसबुकमा जोडिएको बताए ।
फ्री फायरमै चिनजान भएर आफूले गिफ्टहरू समेत पठाएको र अस्मितासँग प्रेममा रहेको बताए । अस्मितासँग २ वर्ष भर्चुअल रिलेसनमा रहेको तर उनको अन्य बंगलादेशी ब्वाई फ्रेन्डसमेत रहेको थाहा पाएपछि आफूहरूबिच झगडा भएको जावेदले बताए । अस्मिताका साथी तथा आफन्तलाई पठाएको तस्बिर र भिडियोसमेत आफूले रेकर्ड गरेको नभई अन्य बंगलादेशी ब्वाईफ्रेन्डले नै रेकर्ड गरेको र त्यो देखेपछि आवेगमा आफूले उक्त तस्बिर तथा भिडियो अस्मिताको आफन्तलाई पठाएर गल्ती गरेको बताए ।

जावेदले लोकपथसँग भने, ‘हो, मैले आवेगमा गल्ती गरेँ । किनभने मैले उनलाई प्रेम गर्दथेँ र एक्कासि त्यस्तो देखेपछि आवेगमा अपराध गरेँ । मैले आफ्नो अपराधको सजाय भोगिसकेको छु र अझै भोग्नुपर्छ कि पर्दैन थाहा छैन । मैले जे गरेँ, त्यसमा मलाई पश्चात्ताप छ ।’
साइबर बुलिङको टार्गेटमा किशोर-किशोरी बढी : डिआइजी अर्याल
साइबर ब्युरोका प्रमुख डिआइजी नविन्द अर्याल पछिल्लो समय साइबर बुलिङको सिकारमा बालबालिका र किशोर अस्मिता परिरहेको बताउँछन् । सामाजिक सञ्जालको दुरुपयोग वा प्रयोगको अज्ञानताका कारण ठुला मानिसहरू आर्थिक क्षतिमा पर्ने गरेकामा साना बालबालिकाहरू पनि साइबर बुलिङमा पर्ने गरेको अर्याल बताउँछन् ।

साइबर बुलिङ भन्नाले इन्टरनेट र सामाजिक सञ्जालका माध्यमबाट धम्की दिने काम हो । यसमा इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल फोन वा अन्य डिजिटल माध्यमबाट कसैलाई डराउने, अपमान गर्ने, बेइज्जत गरिदिने, आतंकित गर्ने आदि कार्य गरिन्छ जहाँ विभिन्न डर धम्की देखाएर ब्ल्याकमेलसमेत गरिन्छ ।
डिआइजी अर्यालले सानै उमेरका बालबालिकालाई मोबाइल वा इन्टरनेटको बेफिक्री प्रयोग गर्न दिने र अभिभावकले बालबच्चाले के हेरिरहेका छन् भनी ध्यान नदिँदा यस्तो घटना भइरहेको बताए । बालबालिकालाई मोबाइल वा इन्टरनेट दिँदा अभिभावकले उनीहरूको गतिविधि चेकजाँच गर्नुपर्ने अर्यालले बताए ।
अर्यालले भने, ‘अब मोबाइल वा इन्टरनेट नै चलाउन नदिने भन्ने कुरा धेरै कठिन छ, तर मेरा बालबालिकाले के गरिरहेका छन् भनी हेर्नु अभिभावकको दायित्व हो । नत्र कतिपय घटनामा बालबालिका आत्महत्याको अवस्थामा पुगिसकेका हुन्छन् । घटना भइसकेपछि त्यसको खोजबिन गर्नुको अर्थ छैन, समयमै उनीहरूमाथि निगरानी र नियन्त्रण राख्नु जरुरी हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया