एमालेको झोलामा राष्ट्रवाद छ : प्रवक्ता गुरुङ

लोकपथ
231
Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन् । 

मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधबार सरकारका प्रवक्ता गुरुङले आफूहरू झोल खाने नभई जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताए । 

उनले आफूले नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरववोध गर्नुपर्ने बताए । 

एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको भन्दै उनले सुशासन नभई कन सामाजिक र आर्थिक रूपान्तरण हुन नसक्ने र त्यसको झोला एमालेले बोकिरहेको बताए ।  

मन्त्री गुरुङले भने, ‘झोल खानेलाई पनि झोले भन्छ, झोला बोक्नेलाई पनि झोले भन्छ । हामीले झोल खाने झोले भनेको होइन । हाम्रो अहिलेको प्रधानमन्त्री जो एमालेको अध्यक्ष पनि हुनुहुन्छ, उहाँले भन्न खोज्नुभएको झोले भनेको हामी पार्टीको झोला बोक्ने, जुन पार्टीमा झोला बोकेर काम गरेका छौँ, नीति सिद्धान्त, झण्डा पनि हो । एमालेको झोले हुन किन म तयार छु भने एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त बोकेको छ । त्यसैले अटेको छ । आजको जनताको बहुदलीय जनवादलाई एमालेले अहिलेको लोकतन्त्रलाई हामीले त्यसको वृहत् रूपमा किन्प्रिहेन्सिभ डेमोक्रेसी भनेका छौँ । त्यो झोलाको सिद्धान्त बोकेको कार्यकर्ताको पार्टी हो एमाले । एमालेको राष्ट्रियता, कूटनीति, प्रजातन्त्र लोकतन्त्रप्रतिको सिद्धान्त वा अहिलेको गुड गभर्नेन्स कसरी चलाउने, गुड गभर्नेन्स नभई कन सामाजिक आर्थिक रूपान्तरण हुँदैन, समाजवादको आधार तयार हुँदैन । हाम्रो दर्शन, फिलो सिपी, सिद्धान्त, राजनीति बोकेर जसले हिँड्छ त्यो एमालेको झोला बोक्ने मान्छे हो भनेको हो ।’

मन्त्री गुरुङले एमालेको झोला बोक्ने कुरामा सबैले गर्व महसुस गर्नुपर्ने बताए ।  आफू राष्ट्रियताको झण्डा बोक्ने व्यक्ति भएकाले एमालेको झोले भएको जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?