काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल बिरामी परेकी छिन् । सांगीतिक प्रस्तुतिका लागि रुकुम पश्चिम पुगेकी रिमालको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो ।
उनलाई अहिले ह्याम्स अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । उनका दाजु श्रीधर अधिकारीका अनुसार रचनाको पेटमा समस्या देखिएको छ । संक्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको अधिकारीले बताए ।
चिकित्सकले मंगलबार रातीदेखि औषधि चलाएका छन् । ‘पानी पनि नखुवाए जसरी औषधि चलाइएको छ । मुख भरेर पानी खान दिइएको छैन । बिर्कोबाट पानी खुवाउनुपरेको छ,’ उनका दाजु अधिकारीले भने ।
औषधि चलाइन्जेल डाक्टरले अहिल्यै खान र जुस पनि नखान सल्लाह दिएको अधिकारीको भनाइ छ । ‘अझै केही दिन अस्पतालमै उपचार गर्नुपर्ने देखिएको छ । खान खान सक्ने भएपछि मात्र डिस्चार्ज गर्ला,’ अधिकारीले भने ।
रिमालले रुकुम पश्चिमस्थित सानीभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । अचानक पेट दुखेपछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको हो । नेपाली सेनाको हेलिकोप्टरले उनको उद्धार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया