काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुचारु हुने बताएका छन् । मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधबार सरकारका प्रवक्ता गुरुङले आज वा भोलिसम्म बैठक सुचारु हुने बताए ।
भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षली दलहरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको र कर्मचारीमाथि छानबिन सुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारे ।
उनले एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे । अहिले पनि संसद्को अवरोध खुलाउने बारेमा सत्ता पक्ष र प्रतिपक्षबिच छलफल जारी रहेको बताए ।
गृहमन्त्रीले राजीनामा नदिने बरु संसदीय छानबिन समिति कसरी बनाउने भन्नेमा छलफल जारी रहेको बताए । सदनमा उठेका प्रश्नको जवाफ संसद्मा गृहमन्त्रीले दिने र प्रतिपक्षले संसद् खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्री गुरुङले भने, ‘संसद् अवरुद्ध भएको धेरै दिन भइसकेको छ । अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको । गृह मन्त्रालयको एउटा कर्मचारीमाथि । एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्दैन । धेरै हिसाबले अनुपयुक्त थियो । अहिले संसद् जसरी अवरुद्ध भइरहको छ, सत्तापक्ष र प्रतिपक्षको बिचमा लामै छलफल चलिरहेको छ । आज सम्भवतः संसद् खुल्नसक्ने सम्भावना छ । गृहमन्त्रीले राजीनामा दिने कुरा फेरि पनि आउँदैन । धेरैमा संसदीय छानबिन कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ । हाम्रो उठिरहेका प्रश्नको संसद्मा धारणा राख्ने र प्रतिपक्षले संसद् खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गरिरहेका छौँ । राजनीति, संसद्लाई कसरी लैजाने भन्ने कुरा सानोतिनो कुरा उठाएर अप्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्दैन । सम्भवतः आज वा भोलिसम्म संसद् चल्छ ।’ मन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अप्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया