चितवन । चितवन राष्ट्रिय निकुञ्जले सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैँडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ ।
दुई वटा गैँडा ल्याउने वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार करिब ३० महिनाको पोथी गैँडा (पूजा)लाई बुधबार सदर चिडियाखाना ल्याइएको हो । केही दिनअघि २३ महिनाको एउटा भाले गैँडा (माइला) लाई सदर चिडियाखाना ल्याइएको थियो ।
पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा लगिएको थियो ।
जैविक विविधता संरक्षण केन्द्र सौराहामा गैँडाको हेरचाह गर्दै आएका लाल बहादुर महतराले आफूले हुर्काएका ६ वटा गैँडा मध्ये दुई वटा सौराहा, दुई वटा कोशी र दुई वटालाई चिडियाखानामा पठाइएको बताए ।
पूजालाई यसअघि नै माहिलासँगै ल्याउने तयारी गरे पनि खोरमा जान नमानेपछि छुट्टाछुट्टै ल्याइएको महतराले बताए । यससँगै अव सदर चिडियाखानामा गैँडाको संख्या तीन पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया