काठमाडौं । प्रदर्शनको मुखैमा आएर पोस्पोन्ड भएको नेपाली फिल्म ‘महाभोज’ पर्सि शुक्रबारबाट रिलिज हुने भएको छ । सिनेमा हलहरूले फिल्मका लागि अग्रिम टिकट बुकिङ पनि खुलाइसकेका छन् ।
देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मको सो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको हो ।
वान सिनेमाज, एफक्युब सिनेमाजलगायतका मल्टिप्लेक्सले पनि बुकिङ खुलाइसकेका छन् । आईएनआई सिनेमा, बिग मुभिजलगायतका अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी गरेका छन् ।
सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।
प्रिभ्यु प्रिमियरमा दर्शकको सकारात्मक प्रतिक्रिया पाएको यो फिल्म यसअघि जेठ १५ देखि प्रदर्शनमा आउने तयारीमा थियो । देशको विषम परिस्थितिको कारण देखाउँदै त्यसबेला प्रदर्शन स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया