काठमाडौं । सरकारले लगानीको वातावरण बनेको दाबी गरे पनि निजी क्षेत्रले लगानी नबढाउँदा बैंकहरुमा फेरि ठुलो रकम थुप्रिएको छ । बैंकहरुमा धेरै रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज बुधबार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पटकपटक यसरी निक्षेप खिच्दै आएको छ । राष्ट्र बैंकले २१ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ ।
बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।
राष्ट्र बैंककाअनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । गत आइतबार पनि राष्ट्र बैंकले २० अर्ब खिचेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया