गुन भुल्यौ… अनि चर्चामा सारिका 

सारा प्रेमको पीडालाई स्वरमा बाँध्ने गायिका सारिका घिमिरेको कथा 

लोकपथ
1.2k
Shares

काठमाडौं ‘गुन भुल्यौ पित्तलको, सुन पायौ होला । भुइँ छोड्यौ आकाशको जुन पायौ होला…।’

यो वियोग–वेदनाले भरिएको गीतले अहिलेको सांगीतिक बजार तताइरहेको छ । रिलिज भएको ११ दिनमा यो गीत २० लाखभन्दा धेरै पटक युट्युबमा हेरिएको छ । हजारौँ टिकटक प्रयोगकर्ताले यो गीतमा टिकटक बनाएका छन् । धेरैले यो गीतलाई आफ्नो अनुभूतिसँग जोडेका छन् । यो गीत केवल शब्द र लयको मेलमात्र हैन– यो गीत गायिका सारिका घिमिरेको आत्म–अनुभूतिमा जन्मिएको अनुभूति हो । 

‘हाम्रो जीवनमा माया त हुन्छ, तर सधैँ रहँदैन । कसैले गुन बिर्सन्छ, कसैले बाटो फेरिदिन्छ,’ सारिका भन्छिन्, ‘म चाहन्थेँ– यस्तो गीत बनोस्, जो हरेकको कथाजस्तै लागोस् ।’

गीतका शब्द– गुन, पित्तल, सुन, जुन – सुस्तरी र गहिरिएर मनभित्र पस्छन् । यो जादु केवल शब्दको हैन – त्यो गहिरो भावनाको असर हो । डान्सिङ बाटो हुँदै गम्भीर यात्रामा सारिकाको पहिलो गीत थियो– हेल्लो । 

यो गीत झन्डै पाँच वर्षअघि सार्वजनिक गरिएको थियो । त्यसयता ‘ऐँसेलुको पात’, ‘रातो गलबन्दी’, ‘घिन्ताङ मादलु’ जस्ता गीतहरू युट्युबमा करोड भ्युज पार गरिसकेका छन् । यद्यपि ती गीतहरू बढी डान्सिङ नम्बर थिए । 

अहिलेको गीत भने फरक स्वादको छ– विरह, वेदनाले भरिएको । 

खोटाङकी सारिकाको जन्म सुनसरीमा भयो– बुबा प्रहरीमा भएकाले । एसएलसी सकेपछि काठमाडौं आएकी उनी केही समय फिल्ममा देखिइन् । उनले ‘जीवन काँडा कि फूल’, ‘आगो २’ लगायतका फिल्ममा काम गरिन् । फिल्ममा उनको मन रमाउन सकेन । उनलाई फिल्ममा खेल्दै गर्दा लाग्यो– ‘मैले अभिनयमा न्याय गर्न सकिरहेकी छैन ।’ 

त्यसपछि उनको बाटो फेरियो । गायनमा प्रवेश गरिन् । गायनमा पनि सारिकाले अरूका शब्द, संगीत खोजेर बसिनन् । धेरै गीत आफैँले लेखिन्, आफैँले संगीत भरिन् र गाइन् । गायनमा पहिचान बनाइन् । उनको स्वरमा एक किसिमको मिठास र सादगी छ, जसले सामान्य श्रोतालाई पनि सजिलै छोइदिन्छ । 

अनि भाइरल… पछिल्लो समय द्विअर्थी गीतहरूले बजार पिटेको छ । यस्तो समयमा सारिकाले भावनात्मक गीत सार्वजनिक गरिन् । सामान्य म्युजिक भिडिओ बनाएर सार्वजनिक गरेको गीतले यति धेरै माया पाउँछ भनेर उनले कल्पनासमेत गरेकी थिइनन् । टिकटकले उनको गीतलाई लोकप्रिय बनाइदियो । सामान्य तरिकाले गीत सार्वजनिक गरेकी सारिकालाई असाधारण सफलता मिल्यो । 

‘यसरी माया पाइन्छ भन्ने मलाई लागेकै थिएन । मैले साधारण गीत बनाएकी थिएँ’,’ सारिका भन्छिन्, ‘तर सबैको जीवनसँग मिल्न गयो । यही सबैभन्दा ठूलो पुरस्कार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?