काठमाडौं । नेपालबाट भारततर्फ लैजान लागिएको २४ लाख रुपैयाँभन्दा बढी मूल्यको कृत्रिम यौन खेलौना (सेक्स टोय) सहित एउटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही प्रहरीले भैरहवा भन्सार नाका नजिकै भैरहवा–परासी हुलाकी सडक खण्डअन्तर्गत बाइपासबाट १ हजार ३ सय ६९ थान कृत्रिम यौन खेलौना नियन्त्रणमा लिएको हो । सो क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गाडी चालक र सहयोगी भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको रामपुर थानाका ४५ वर्षीय नसिब अहमद रदेश र भारत उत्तर प्रदेश कन्नौउ जिल्ला पुर्वा गाउँ मंगत खडा थाना निवासी २६ वर्षीय देबेन्दरकुमार सिंह छन् ।
सो कृत्रिम यौन खेलौना युके १८ सीए २५७५ नम्बरको भारतीय गाडीमा राखेर काठमाडौंबाट सुनौली हुँदै भारततर्फ लैजान लागिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले बिना बिलबिजकको ती सामान अवैध रूपमा भारत लैजान खोजिएको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।
थप अनुसन्धानका लागि पक्राउ गरिएका सबै सामान, ट्रक र चालकसहितका व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको डिएसपी सापकोटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया