ओलीलाई अप्ठेरो पार्ने गरी वरिष्ठ उपाध्यक्ष पोखरेलले फ्याँकेको यो कार्ड, ओली पक्ष तरंगित

काठमाडौं । ७० वर्षे उमेरहद र दुई पटक मात्र पार्टी अध्यक्ष भनेर विधान महाधिवेशनले गरेको निर्णय सचिवालय बैठकले निष्क्रिय तुल्याएको भनेर एमालेभित्र आलोचना भइरहेका बेला नेताहरूले मुख खोल्न थालेका छन् । 

पछिल्लो पटक एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यो विषयमा मुख खोलेपछि एमाले पार्टी तरंगित बन्न पुगेको छ । एमालेमा पनि विशेषगरी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू तरंगित बनेका छन् । 

एमालेमा वरिष्ठ उपाध्यक्ष पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट भनेर मानिन्छ । ६२ वर्षीया पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष बन्ने गरी राजनीतिमा सक्रिय भइरहेको टिप्पणी भइरहेका बेला वरिष्ठ उपाध्यक्ष पोखरेलको यो भनाइलाई विशेष चर्चाका साथ हेरिएको हो । 

एमालेको नवौंं महाधिवेशनले लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने विधानमा प्रबन्ध गरेको थियो । २०७८ को विधान अधिवेशनले त्यो कुरालाई विधानमा समावेश नगरे पनि ७० वर्षे उमेरहदलाई भने निरन्तरता दिएको थियो । तर विधान महाधिवेशनले गरेको सो निर्णय सचिवालय बैठकले निष्क्रिय तुल्याइदियो । यसैमा हो, वरिष्ठ उपाध्यक्ष पोखरेलको यो टिप्पणी । 

हिमालय टेलिभिजनको यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बानियाँको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आफू ७० वर्षे उमेरको सीमाको पक्षमा मात्र नभई लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नहुने पक्षमा रहेकोसमेत बताए ।

अन्तर्वार्तामा उनले भनेका छन्, ‘हाम्रो पार्टीको विगतको महाधिवेशनले नेतृत्वको बारेमा दुइटा कुरा गरेको छ । एउटा उमेरको सीमा तय गरेको छ, ७० वर्ष । अर्को, कार्यकारी पदमा लगातार दुईपटक भन्दा बेसी नहुने, डिस्कन्टिन्यु हुनुपर्छ भन्ने प्रावधान राखेको छ । लगातार दुइटा कार्यकारी पदमा बसेकाले दुई कार्यकालपछि निरन्तरता पाउनुहुँदैन भनेर हामीले लामो छलफल गरेर तय गरेको विषय थियो । त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छु म ।’

७४ वर्षीय एमाले अध्यक्ष ओली ७० वर्षे उमेरहदको अर्थ सकिइसकेको र तेस्रो पटक पनि अध्यक्ष बन्न आफू सक्षम भएको दाबीसहित पुनः मैदानमा उत्रिने तरखर गरिरहेका छन् । यतिमात्र नभई उनी आफ्नो प्रतिस्पर्धी कोही नरहेको भन्दै एमाले अध्यक्षको दाबी गर्ने सम्भावित उम्मेदवारको रूपमा चर्चामा रहेका पूर्वराष्ट्रपति भण्डारीप्रति पनि संकीर्ण देखिन थालेका छन् । विगतमा आफूलाई सर्वसम्मत अध्यक्ष बन्न नदिएका भीम रावललाई त उनले पार्टीबाटै निष्कासन गरिसकेका छन् । आफ्ना प्रतिस्पर्धीलाई एक एक गरी सिद्ध्याउँदै आएका ओलीलाई पूर्वराष्ट्रपति भण्डारीसँग कति डर रहेछ भनेर बुझ्न ओलीको यो भनाइ सुनौँ । 

आइतबार एमालेको भ्रातृ संगठन अनेरास्ववियुको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष बन्नेबारे पार्टीमा छलफल भएको छैन, महाधिवेशन (मिति) समेत घोषणा भएको छैन । बाहिर–बाहिर हल्ला चलाएर, पार्टीलाई कमजोर पार्न खोज्ने ? पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने ?’

खासमा ओलीको यो अभिव्यक्ति पूर्वराष्ट्रपति भण्डारीलक्षित थियो । उनी अहिले राजनीतिक दौडाहामा मात्रै छैनन्, आगामी महाधिवेशनमा अध्यक्षमा उठ्ने गरी आफ्नो माहौलसमेत बनाइरहेकी छन् । एमालेमा एकछत्र राज गर्दै आएका ओलीलाई यो कुरा पच्ने कुरै भएन । त्यसैले नै हो ओलीले पूर्वराष्ट्रपति भण्डारीलक्षित अभिव्यक्ति दिनु परेको हो । 

यसैको जवाफमा भण्डारीले आज मंगलबार ओलीलाई घुमाउरो ढंगले जवाफ फर्काएकी छन् । आज मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको जिज्ञासामा पूर्वराष्ट्रपति भण्डारीले एमाले आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले यसका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिइरहनुपर्ने आवश्यकता नरहेको बताएकी छन् । 

राष्ट्रपति भण्डारी पछिल्ला दिनमा एमालेका कार्यक्रममा सक्रिय ढंगले उपस्थिति जनाइरहेकी छन् । विराटनगरको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा आयोजित कार्यक्रममा उपस्थिति जनाइरहेका बेला ओलीले भण्डारीको ‘सक्रियता’ माथि प्रश्न खडा गरेका थिए ।  

उनले आज बिहान सञ्चारकर्मीसँग विराटनगर विमानस्थलमा भनिन्, ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको । चिनजान ठूलै छ । पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ । मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्‍यो, भेटघाट गर्दै गर्नुपर्‍यो, के छ जनताको विचार, आकांक्षाहरू ? नयाँ पुस्ता के चाहन्छन् ? त्यसलाई पूरा गर्न, मैले सुरुमै भनेँ– राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ । त्यो हाम्रो परम कर्तव्य हो । त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ– नयाँ पुस्ताका लागि देशका लागि । त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन ।’

वास्तवमा ओलीका पछिल्ला अभिव्यक्ति सुन्दा ओलीको प्रतिस्पर्धी वा विरोधी शेरबहादुर देउवा वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ होइनन्, विद्या भण्डारी हुन् । त्यहीकारण भण्डारी उनको निसानामा पर्न थालेकी छन् । 

त्यसो त भण्डारी पछिल्ला दिनमा ‘मेरो आवश्यकता परे’, ‘परिस्थितिले माग गरे’, ‘सर्वसम्मति जुटे’ पार्टी नेतृत्वमा आउने बताउन थालेकी छन् । 

यही सेरोफेरोभित्र वरिष्ठ उपाध्यक्ष पोखरेलले भण्डारीलाई अनुकूल हुने गरी ७० वर्षे उमेरहद र लगातार दुई कार्यकालको कार्ड फ्याँकेको बुझ्न गाह्रो छैन । 

विगत निकटलाई हेर्ने हो भने एमालेले नवौँ महाधिवेशनपछि उमेरहदको प्रबन्ध गरेको थियो । बीचमा २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्दा त्यो प्रावधान हटेको थियो । २०७८ मा एमालेले विधान महाधिवेशन गर्दा पुनः त्यो प्रावधान राखेको थियो । तर २०८० जेठमा एकीकृत समाजवादीबाट मुकुन्द न्यौपानेसहितका नेताहरूलाई भित्र्याउन मात्रै त्यो प्रावधान खुला गरिएको थियो । 

वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइमा, ‘एकीकृत समाजवादीमा गएका साथीहरू, कतिपय पुराना पार्टीमा रहनु भएको साथीहरू आउने स्थितिमा उमेरको सीमाले समस्यामा पार्ने भएको हुनाले केही समयका लागि खुला गर्‍यौँ। साथीहरू आउनुभयो । केन्द्रीय कमिटीमा, स्थायी कमिटीमा रहनुभएको छ । तर यसको अर्थ, जुन महाधिवेशनले व्यवस्था गरेको थियो, त्यो व्यवस्था केही समयका लागि अन्तरिम व्यवस्थापन गरेको हो ।’

उनले अहिले निष्क्रिय राखिएको निर्णयलाई आउँदो भदौमा हुने विधान महाधिवेशनले अनुमोदन गर्छ कि गर्दैन भनेर हेर्नुपर्ने पनि बताए ।

खासमा ७० वर्षे उमेरहदको पछिल्लो बहस अनेरास्ववियुका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले सतहमा ल्याएका हुन् । जेठ २५ गते आइतबार अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रका वक्ता थिए मैनाली । पूर्वअध्यक्षको हिसाबले उनलाई पनि बोल्न दिइएको थियो । आफू पूर्वअध्यक्ष रहेको अखिलमा यसै वर्ष ३२ वर्षे उमेर हद लगाइएको प्रसंग निकाल्दै उनले पार्टीमा पनि उमेर हदको चर्चा गरेका थिए । उनले ७० वर्षे उमेरहदकै कारण आफू एमालेको सक्रिय राजनीतिबाट बिदा भएको पनि बताएका थिए । 

मैनालीले ७० वर्षे उमेरहदको प्रसंग निकालेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली चुप लागेर बस्न सकेनन् । आफूलाई चित्त नबुझेको विषयमा आफूअनुकूल तुरुन्तै प्रतिक्रिया दिइहाल्ने स्वभावका ओलीले आफूलाई केन्द्रमा राख्दै भने, ‘अघि विश्वकान्तजीले…, उहाँ अलि पाको पनि हुनुभो । बाइ द वे उहाँले भनिहाल्नुभो ७० वर्षे उमेरको कुरा । ७० वर्ष उमेर फेल खाइसक्यो । ७० वर्ष उमेर फेल खाइसक्यो । अहिले म ७४ चल्दै छु । ७० वर्षमा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? अहिले म ७४ चलिराखेको छु । ७० वर्षमा रिटायर्ड हुन उमेर चार वर्ष घटाउन भएन क्यार ! उमेरले होइन, स्वास्थ्यले साथ दिन्छ दिँदैन ? यी कुराहरू मुख्य हुन् । कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा यी हुन् ।’

उनी यतिमै रोकिएनन् । आफूले जे गरे त्यही ठीक र आफूलाई जहिले पनि माथि राख्ने स्वभावका ओलीले चीनको उदाहरण पनि दिन भ्याए । त्यहाँ दुईपटक राष्ट्रपति, पार्टी महासचिव हुन पाउने प्रबन्ध राखेर पनि हटाएको तर्क गर्दै उनले भने, ‘चीनमा दुईपल्ट मात्रै महासचिव हुन पाउने नियम बनाएको थियो । राष्ट्रपति दुईपटक मात्रै हुन पाउने बनाएको थियो । सी चिनफिङको निरन्तरताको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ७० वर्ष पनि हुँदैन, ६५ वर्ष पनि हुँदैन भन्यो । उहाँहरूले ६५ लगाउनुभएको थियो । अहिले राष्ट्रपति सी चिनफिङ ७२ पुगिसक्नुभएको छ । साइप्रसको कम्युनिस्ट पार्टीले ६५ तोकेको थियो, छोड्नुभयो । अरू विभिन्न पार्टीले उमेरहद तोकेका थिए । सबैले छाडे । किनकि उमेरले होइन थुप्रै फ्याक्टर हुँदा रहेछन् । आवश्यकताहरू थुप्रै पर्दा रहेछन् ।’

पार्टी अध्यक्ष ओलीले ७० वर्षे प्रावधान असफलसिद्ध भइसकेको जिकिर गरेपछि त्यसविरूद्ध बोलेका पोखरेलले आफूले कुनै व्यक्तिका सन्दर्भमा नभनेकोसमेत बताएका छन् अन्तर्वार्तामा । 

७० वर्षे लागू हुँदा उनी स्वयं पनि एमाले राजनीतिबाट बाहिरिन्छन् । किनकि उनी अहिले नै ७३ वर्ष पूरा भइसकेका छन् । 

‘मैले सोलोडोलो कुरा गरेको होइन, मैले को कहाँ पर्छ भन्ने कुरा गरेको होइन । हामीले कुन मान्यताको आधारमा हामीले व्यवस्था गर्‍यौँ, त्यो मान्यताप्रति अडिनुपर्छ भनेको हो,’ उनले आफ्नो तर्कमा उभिँदै भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?