अखिलमा सहमतिमै नेतृत्व टुंग्याउन ओलीको दबाब पनि व्यर्थ, भोलि निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक

लोकपथ
2.8k
Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुमा अन्ततः निर्वाचन मार्फत नयाँ कार्यसमिति चुनिने भएको छ । सहमतिको प्रयास असफल भएपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार उम्मेदवारको दर्ता फारम आज ३ देखि ५ बजेसम्म वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख छ । मतदान भोलि बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ ।

बन्दसत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना सिवाकोटी र महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरेको थियो । भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि यी नाम प्रस्ताव गरे पनि सहमति नजुटेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।

महाधिवेशनमा अध्यक्ष मण्डलले सर्वसम्मत ढंगले कमिटी चयनको नाम प्रस्ताव गरेपछि कमिटीमा परेकाहरू नै असन्तुष्ट देखिएका थिए । 

अध्यक्ष मण्डलद्वारा प्रस्तुत प्रस्तावमा महासचिवमा प्रस्तावित धामी, उपाध्यक्षमा प्रस्तावित पौडेल नै सन्तुष्ट देखिएका थिएनन् । उनीहरूले निर्वाचनमार्फत् पदाधिकारी छान्नुपर्ने र आफूहरूले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए । ‘बन्दसत्रमा मेरो नाम महासचिवमा प्रस्ताव गरियो भन्ने सुनेको छु, म चाहिँ अध्यक्षमै उम्मेदवारी दिने तयारीमा छु, अहिले छलफलमै छु,’ उनले भनेका थिए ।

यस्तै, अध्यक्षका अर्का आकांक्षी प्रकाश पौडेलले पनि निर्वाचन प्रक्रिया तत्काल थाल्न अध्यक्ष मण्डलको ध्यानाकर्षण गराएका थिए  । अध्यक्ष मण्डलले नाम प्रस्ताव गरेपछि असन्तुष्ट विद्यार्थीहरूले नाराबाजीसमेत गरेका थिए । उनीहरूले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने बताएका थिए । 

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिमै नेतृत्व टुंग्याउन अध्यक्ष मण्डलका सदस्यसहितलाई बालुवाटार बोलाएर निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?