काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरूलाई वंशजको नागरिकता दिन नहुने बताएका छन्।
मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताए ।
खुला सीमा भएका कारण भारतबाट मात्र नभई उत्तर, दक्षिण लगायतका विभिन्न देशहरूबाट नेपालमा आउनेहरूको लर्को रहेको बताए । आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने उनको भनाइ छ ।
उनले पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ? भन्दै प्रश्न गरे । गैह्र आवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिए पनि त्यतिले नपुगेको बताए । ब्रिटिस गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने उनको भनाइ छ ।
उनले भने, ‘नेपालमा नागरिकताको समस्या अत्यन्त जटिल समस्या रहेको छ । दक्षिणतिर मात्रै बोर्डर खुला छ भन्ने मात्रै होइन । उत्तर, दक्षिण, बर्मा विभिन्न देशबाट मान्छेको ओइरो लागेको हो । हाम्रो पार्टीले के भन्दै आएको हो भने आमा वंशजको, बुबा वंशजको यसबाट जन्मिएका सन्तानलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ भन्ने हो । गैह्र आवासीय नेपालीहरूको समस्या र धेरै कुराहरू सुनियो । उपदेश पनि धेरै सुनिरहेको छ । उनीहरू यहाँ आउन पाउने र उनीहरूलाई वंशजको नागरिकता दिने हो भने देश स्विट्जरल्याण्ड हुने जस्तो कुरा पनि सुनियो । पैसा कमाएका कारणले नागरिकता पाइन्छ ? वंशजको नागरिकता पाइन्छ ? त्यसो भए त धेरैले लिन्थे नि । गैह्र आवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकारको कुरा छ, त्यसले उहाँहरूलाई पुगेको छैन । त्यस्तो हुन्छ । ब्रिटिस गोरखाको पनि त्यही छ । उता पनि वंशजको नागरिकता लियो, उहिले राणाकालमा सम्झौता भएर गएको निरन्तर हुनुपर्छ, दुईतिर नागरिकता लिन पाइन्छ ? संसद्मा भोटिङ हुनुपर्छ यसबारेमा । मेरो एउटै भोट पर्ला फरक पर्दैन । बिलौना सुनेपछि मन पगाल्ने काम नगरौँ ।’
अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरका ल्याएर नागरिकता दिने कुरा राम्रो नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया