काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने बताएकी छन् ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतालाई लिएर घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गरिरहेका बेला उनको यस्तो भनाइ आएको हो ।
आज मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको जिज्ञासामा पूर्वराष्ट्रपति भण्डारीले एमाले आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले यसका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिइरहनुपर्ने आवश्यकता नरहेको बताइन् ।
राष्ट्रपति भण्डारी पछिल्ला दिनमा एमालेका कार्यक्रममा सक्रिय ढंगले उपस्थिति जनाइरहेकी छन् । विराटनगरको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा आयोजित कार्यक्रममा उपस्थिति जनाइरहेका बेला ओलीले भण्डारीको ‘सक्रियता’ माथि प्रश्न खडा गरेका थिए ।
आइतबार एमालेको भ्रातृ संगठन अनेरास्ववियुको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘‘को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष बन्नेबारे पार्टीमा छलफल भएको छैन, महाधिवेशन (मिति) समेत घोषणा भएको छैन । बाहिर–बाहिर हल्ला चलाएर, पार्टीलाई कमजोर पार्न खोज्ने ? पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने ?’
खासमा ओलीको यो अभिव्यक्ति पूर्वराष्ट्रपति भण्डारीलक्षित रहेको राजनीतिक वृत्तमा चर्चा छ । यसैको जवाफमा भण्डारीको अभिव्यक्ति आएको अनुमान गरिएको छ ।
उनले आज बिहान सञ्चारकर्मीसँग विराटनगर विमानस्थलमा भनिन्, ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको । चिनजान ठूलै छ । पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ । मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्यो, भेटघाट गर्दै गर्नुपर्यो, के छ जनताको विचार, आकांक्षाहरू ? नयाँ पुस्ता के चाहन्छन् ? त्यसलाई पूरा गर्न, मैले सुरुमै भनेँ– राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ । त्यो हाम्रो परम कर्तव्य हो । त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ– नयाँ पुस्ताका लागि देशका लागि । त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन ।’
ओलीका पछिल्ला अभिव्यक्ति सुन्दा ओलीको प्रतिस्पर्धी वा विरोधी शेरबहादुर देउवा वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ होइनन्, विद्या भण्डारी हुन् । त्यहीकारण भण्डारी उनको निसानामा पर्न थालेकी छन् ।
‘मेरो आवश्यकता परे’, ‘परिस्थितिले माग गरे’, ‘सर्वसम्मति जुटे’ मात्र पार्टी नेतृत्वमा आउने पूर्वराष्ट्रपति भण्डारीको भनाइले ओली पछिल्ला दिनमा भण्डारीसँग भयभीत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया