जेठ महिनामै काठमाडौंका ठाउँठाउँमा पाकेका आँप ! त्यो पनि हेर्दा पहेँलो, हेर्दै रहरलाग्दो अनि खाउँखाउँ जस्तो ! तर त्यसभित्र छिपेको विषादी र त्यसले गर्ने असरबारे थाहा पाउनु भएको छ ? आँपलाई फलफूलहरुको राजा भनिन्छ । खाँदा मिठो हुन्छ । तर विभिन्न केमिकलको प्रयोगले पकाइएका फलफूलको राजा मानिने आँपमा मिसिएको विषादीले शरिरमा राज गरिरहेको हुन्छ, रोग बढाइरहेको हुन्छ जुन, तपाईँ हामीलाई पत्तै भएको हुँदैन ।
बजारमा व्यापारी र बिचौलियाहरुको अस्वस्थ प्रतिष्पर्धाले टिप्ने बेलै नभइ किसानको बगैँचाको आँप व्यापारीको पञ्जामा पुग्छ ।
आँप पाक्ने सिजन नहुँदै आँपको व्यापारले व्यापारीको गोजी भरिन्छ, अनि सेवन गर्ने उपभोक्ता बिरामी हुन्छन् र अस्पताल भरिन्छ । न त्यसमा राज्य सचेत छ, न त हामी आम उपभोक्ताहरु नै त्यसबारे सचेत छौँ ।
संविधानको धारा ४४ मा ‘उपभोक्ताको हक’को कुरा गरिएको छ । संविधानको धारा ४४ को उपधारा १ मा स्पष्टसँग भनिएको छ, ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ ।’ अझ सोही धाराको उपधारा २ मा झन स्पष्टसँग भनिएको छ, ‘गुणस्तरहीन वस्तु तथा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपुर्ति पाउने हक हुनेछ ।’

लेखियो संविधानमा तर देखिएन व्यवहारमा । न आम उपभोक्ताहरुले गुणस्तरीय वस्तुहरु उपभोग गर्न पाइरहेका छन्, न त गुणस्तरहीन वस्तु बिक्री वितरण गर्नेलाई कारबाही र पीडित उपभोक्ताले न्याय नै ।
मानवदेखि फलफूलसम्मको विकासक्रम आ–आफ्नै किसिमको हुन्छ । तर फलफूलको कुरा गर्ने हो भने परिपक्क भएर प्राकृतिक रुपमा पाक्नु अघि नै बजारमा पुर्याइन्छ । हेर्दा आकर्षक देखिन्छ, खाँदा केही स्वाद पनि पाइन्छ । तर पकाउनदेखि त्यसलाई जोगाउन र टल्काउन समेत विभिन्न तहगत केमिकलहरु राखिन्छ । असारको पहिलो साता नभइ आँप खानै नहुने जनस्वास्थ्य विज्ञहरुले सुझाव दिने गरेका छन्, तर जनस्वास्थ्य विज्ञहरुको सुझावको अघि ‘नक्कली सुनलाई टल्काएर सक्कली जस्तो देखाइजस्तो’ टलक्क टल्काएर र गिलित्त गलाएर बजार भरिइसकेको हुन्छ । मुख्य त आँपमा मानव शरिरका लागि अति नै हानिकारक मानिने क्याल्सियम कार्बोनेट लगायतका विपाषीहरु प्रयोग गर्ने गरिन्छ । ती केमिकलहरु पानीमा डुबाउँदा एसिटाइजेसन ग्यासहरु निस्कन्छ । त्यो मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ ।
न बजार अनुगमन, न मानव श्वास्थ्यको ख्याल । व्यापारीलाई केवल व्यापार र नाफा कमाउने ध्यान । जब आँपमा चिचिल्ला लाग्न थाल्छ, तब व्यापारी र बिचौलियाहरुको घुइँचो किसानका आँप र फलफूल बगैँचामा हुने गर्दछ । आकर्षक मूल्य दिएपछि किसान पनि मख्ख । फेरि उक्त आँप पाक्ने बेलासम्म हावाहुरीले हल्लाएर झार्ने र प्राकृतिक रुपमै पाकेको आँप बजारमा धेरै समय समेत नटिक्ने भएकाले छिट्टै बेच्ने मनोविज्ञानले पनि काम गरिरहेको जनश्वास्थ्य विज्ञहरु बताउँछन् ।
एकातिर गर्मी समय, विभिन्न प्रकोप फैलिरहेको हुन्छ । अर्कोतिर आँपमा हालिएको विषादीको असरले तराईमा मात्र नभइ काठमाडौंकै अस्पतालहरु समेत भरिन थालेका छन् । त्यसरी केमिकलयुक्त आँपले तत्काल असर गर्छ नै, यदी त्यसलाई हेलचेक्र्याइँ गरियो भने गम्भीर रोगहरुको जोखिम समेत बढाइरहेको हुन्छ ।
तत्कालका लागि हामीलाई स्नायुमा समस्या देखिन्छ । त्यसको अलवा रिंगाटा लाग्ने, कमजोर महसुस हुने, स्मरण शक्ति कमजोर हुने लगायतका समस्या देखिन्छ, जसले मानसिक रोग समेत निम्त्याउँने विज्ञहरु बताउँछन् । त्यतिमात्र नभएर छाला, आँखामा एलर्जी हुने सिन्ड्रमहरु देखिन्छन् । खाइसकेपछि झाडाबान्ता हुने आउँ पर्ने, पेट दुख्ने, अपच हुने लगायतका समस्याहरु मात्र नभएर श्वासप्रश्वासमा समस्यामा समेत देखिन्छ । त्यति मात्र होइन किड्नीमा समस्या, महिलाहरुमा बाँझोपन, हर्मोनमा हेरफेर हुने, गर्भपतन हुने मात्र होइन प्राणघातक क्यान्सरसम्म हुने देखिन्छ ।
यति भनिरहँदा आँप खानै नहुने हो त ? त्यो पक्कै होइन, तर विषादी प्रयोग गरिएको आँप खानु विषादी खानु बराबर बनिदिन्छ, जुन तपाईँ हामीले पनि जान्दाजान्दै हेलचेक्रयाइ गरिरहेका हुन्छौँ ।
तर तराईका केही जिल्लाहरुमा भने विषाधियुक्त आँपको प्रयोगलाई रोक्न अभियान नै चलेका छन् । तराईका कतिपय जिल्लामा स्थानीय तहहरुले नै त्यस क्षेत्रमा उत्पादित आँपहरुलाई बेला नभइ टिप्न नदिने गरेका छन्, भने भारतबाट आउने आँपहरु समेत निगरानी गरी नष्ट गर्ने गरेका छन् । नेपालमा मात्र होइन समयअगावै काँचो आँपलाई पकाएर बिक्री गर्ने प्रवृत्ति छिमेकी देश भारतमा समेत रहेको पाइन्छ । प्रतिबन्धित क्याल्सियम कार्बोनेट दुवै देशमा प्रतिबन्ध लगाइए पनि त्यसको प्रयोग दुवै देशमा निर्वाध रुपमा बिक्री वितरण भइरहेका छन् ।
काठमाडौं उपत्यकामा तरकारी तथा फलफुल खपत हुने मुख्य केन्द्रहरु कालीमाटी कुलेश्वरमा पछिल्ला केही वर्षदेखि विषादी परिक्षण त भइरहेका छन् । तर बिचौलियाहरुले परीक्षणको दायरमा नल्याइ सिधै बजारमा आँप पुर्याउँदा मानव स्वास्थ्यमा गम्भीर असर देखिएको हो ।
भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया