काठमाडौं । घामको उज्यालो छँदै सेफिल्ड एभिन्यु वरपर चहलपहल सुरु भइसकेको थियो । भिक्टोरिया कालखण्डलगत्तै सन् १९१२ को फ्रान्सेली पुनर्जागरण शैली बोकेर उभिएको ‘भिक (भिक्टोरिया) थिएटर’ बाहिर लामबद्ध दर्शक नेपाली लोकरक अनुभव गर्न व्यग्र देखिन्थे । जब ७ बजे ढोका खुल्यो उल्लासका साथ उनीहरू हलभित्र छिरे । ठीक ८ बजे चर्को आवाज र बत्तीको झिलिमिलीसहित सुरु भयो नेपथ्य कन्सर्ट ।

अर्केस्ट्राका हलहरूदेखि लिएर ब्रोडवेका थिएटरसम्म धूम मच्चाएको सिकागो आफैँमा कला र संस्कृति प्रस्तुतिका लागि विश्व प्रसिद्ध नाम हो । त्यसै सहरमा पहिलोपटक उभिएको नेपथ्यले कोसी नदीको कथा–व्यथा बोकेको डिल्ले दमाईंका सिर्जनालाई याद गर्दै साँझको थालनी गर्यो– ‘कोसीको पानी यो जिन्दगानी, सललल बहिजाने हाउ हजुर’ ।
नेपाली संगीतसँग परिचित आयरल्यान्ड मूलका डेनिस काभनाग पनि संजोगले हलभित्रै उपस्थित थिए । ‘परम्परागत नेपाली धुनहरू सुन्दै आएको हुँ,’ नेपाली साथीहरूले नेपथ्य कन्सर्टबारे जानकारी दिएपछि ब्राजिलियन गर्लफ्रेन्डका साथ आएका डेनिस भनिरहेका थिए, ‘यस ब्यान्डले यहाँ गाइरहेको भने विशुद्ध रक धुन हो, जसमा नेपाली लोक शैलीको मिठो समागम छ ।’

कन्सर्ट हेरेपछि आफूलाई नेपथ्य ब्यान्ड गजब लागेको सुनाए । यसले सिङ्गो हलमा उत्पन्न गर्ने ऊर्जाले झनै मोहित भएको उनको थप प्रतिक्रिया थियो । आफूले गायक अमृत गुरुङमा कता–कता अमेरिकी लोकगायक बब डिलनको झल्को भेटेको पनि डेनिसले उल्लेख गरे ।
यसपटक सात अमेरिकी सहरलाई लक्ष्य गरेर महिना दिन लामो यात्रामा निस्केको नेपथ्यले मे १७ मा टेक्सासको अस्टिनबाट शृंखलाको सुरुवात गरेको थियो । त्यसपछि सियाटल, लस एन्जलस, पिट्सबर्ग हुँदै पाँचौँ प्रस्तुतिका लागि नेपथ्य सिकागो आइपुगेको हो । सिकागोमा नेपथ्यका सर्वकालिक हिट गीतहरूदेखि लिएर राष्ट्रिय गीतहरूसम्म प्रस्तुत गरिएका थिए । ब्यान्डले भर्खरै सार्वजनिक गीत ‘कर्नालीका छाइला’ पनि सुनाएको थियो ।

सिकागोमा प्रस्तुति दिने क्रममा गायक अमृतले नेपालको पर्यटकीय महत्त्वदेखि लिएर सामाजिक न्याय अनि स्वदेशप्रति नयाँ पुस्ताको दायित्वजस्ता विषयमा धारणा पनि राखेका थिए । त्यो क्षणमा दर्शकले हौसलाका साथ उनलाई साथ दिएको देखिन्थ्यो । आफूले भाषा नबुझे पनि अमेरिकामा रहेका नेपाली समुदायले आफ्नो पहिचानलाई कसरी माया गर्दो रहेछ भन्ने महसुस गर्ने मौका कन्सर्टमा पाएको वियतनामिजÞ अमेरिकन सिड्नी फानले बताइन् ।
साथीसँग कन्सर्ट हेर्न आएकी उनले थपिन्, ‘हलका दर्शकको प्रतिक्रियाबाटै मैले मञ्चका कलाकारले पक्कै पनि प्रेम र शान्तिको गीत गाइरहेको हुनुपर्छ भनेर अनुमान लगाएकी थिएँ ।’ नेपथ्य कन्सर्टबाट प्रभावित घानाका ब्राइस डेनिस अन्साले भने आफू नेपाल घुम्न जाने मनस्थितिमा पुगेको सुनाइरहेका थिए । हलभित्र विभिन्न उमेर समूह अनि बेग्लाबेग्लै प्रकृतिका दर्शक थिए ।
बेगनास ताल छेउका राम सुवेदी त अमेरिका आइपुगेका अभिभावकहरूलाई लिएरै कन्सर्टमा उपस्थित भएका थिए । बा आमालाई पनि रमाइलो होस् भनेर विस्कोन्सिनको मिलुवाकीदेखि एक घण्टा मोटर हाँकेर आएको उनले सुनाए । ‘दुई घण्टासम्म नेपथ्यको कन्सर्ट हेर्दा गाउँमै पुगेको महसुस गरेँ,’ सुवेदी भनिरहेका थिए । मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

नेपथ्य अब म्यासाचुसेट्स राज्यको राजधानी बोस्टन सहरतर्फ लाग्नेछ । यस सहरको ‘रोयल बोस्टन’ हलमा नेपथ्य जुन ११ मा प्रस्तुत हुनेछ । बोस्टनपछि नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ । नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको त्यस सहरको ‘पिडमोन्ट हल’ मा जुन १४ को साँझ यस वर्षको शृंखलाबद्ध अमेरिका यात्राकै अन्तिम प्रस्तुति हुनेछ । व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली अमेरिकाको यात्रामा छ ।
तस्बिर : दीपित राज/नेपालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया