सिराहा । १३ वर्षीय एक बालिकालाई रातभर होटेलमा लगेर बलात्कार गरियो । दुई जनाको समूहमा रहेका पीडकमध्ये एक जनाले रातभर बलात्कार गरेको र अर्का एक व्यक्तिले भिडियो खिचेको पीडित बालिकाको बयान छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टमा पनि बलात्कार भएको पुष्टि भएको छ भने बालिकालाई लट्ठ्याउने सुई लगाइएको वा लगाउन खोजिएको सिरिन्जको निशान पनि शरीरमै छ । तर सिराहा जिल्ला अदालतले सोही घटनाका पीडितलाई अभियोगबाट सफाइ दिएको छ ।
घटना २०८० भदौ महिनाको र फैसला भएको २०८१ असार १८ गतेको हो । तर जघन्य प्रकृतिको आततायी बलात्कारका घटनामा पनि अदालतले प्रतिवादीलाई सफाइ दिएको उक्त घटना भने उच्च अदालतमा पुगेपछि मात्रै जानकारीमा आएको हो ।
पहिले घटना के हो, त्यो बुझौँ
जिल्ला प्रहरी कार्यालय, सिराहामा २०८० भदौ ७ गते आफ्नी १३ वर्षीय बहिनीलाई जबरजस्ती करणी गरेको भन्दै एक दुई व्यक्तिविरुद्ध जाहेरी पर्यो । जाहेरीमा आफ्नी बहिनीलाई जागिरमा लगाइदिन्छु भन्दै लगी आरोपितहरू प्रमेश कुमार यादव र राजकुमार चौधरीले जबरजस्ती करणी गरेको आरोप थियो ।
पीडित नाबालिगकी दिदीले दिएको जाहेरीमा भनिएको छ,
‘म जाहेरवालीको बहिनी सांकेतिक नाम ८० लहान ‘ख’ लाई प्रतिवादीहरू राजकुमार चौधरी र राम प्रवेश भन्ने प्रमेश कुमार यादवसमेतले काम लगाइदिन्छु भनी विभिन्न किसिमको प्रलोभन देखाई ललाई फकाई मिति २०८०।०५।०६ गते राति २२ः०० बजेको समयमा जिल्ला सुनसरी इटहरी उप महानगरपालिका वडा नम्बर १० स्थितबाट नम्बर थाहा नभएको स्करपियो गाडीमा बहिनी सांकेतिक नाम ८० लहान ‘ख’ लाई चढाई जिल्ला सिराहा धनगढीमाई नगरपालिका वडा नम्बर ९ जिरोमाईलस्थित पिके होटेलमा ल्याई प्रतिवादी ९८०७७९९xxx नम्बरको सिमकार्ड प्रयोग गर्ने राजकुमार चौधरीको सहयोगमा अर्का प्रतिवादी ९८६२९४०xxx, ९८०७७९३xxx नम्बरको सिमकार्ड प्रयोग गर्ने राम प्रवेश भन्ने प्रमेश कुमार यादव नाम बताउने व्यक्तिले मिति २०८०।०५।०७ गते बिहानको राति ००:३० बजेको समयदेखि बिहान ०५:०० बजेसम्म सोही होटेलको कोठाभित्र मेरो बहिनीलाई पटक पटक जबरजस्ती करणी गरेको हुँदा उक्त घटनामा संलग्न रहेका प्रतिवादीहरूलाई पक्राउ गरी कानुन बमोजिमको कारबाही गरी क्षतिपूर्तिसमेत दिलाई भराई पाऊँ ।’
मेडिकल रिपोर्टमा पीडित नाबालिगमाथि सुई लगाइएको डोबहरू भेटिएको थियो भने बलात्कार वा यौन सम्पर्क भएको प्रमाणित हुने मेडिकल रिपोर्ट दिइएको थियो …
घटना भएकै दिन प्रहरीमा जाहेरी परेपछि प्रहरीले तत्काल पीडितको मेडिकल परीक्षण गरायो । मेडिकल रिपोर्टमा पीडित नाबालिगमाथि सुई लगाइएको डोबहरू भेटिएको थियो भने बलात्कार वा यौन सम्पर्क भएको प्रमाणित हुने मेडिकल रिपोर्ट दिइएको थियो ।
उक्त बलात्कार प्रकरणको अनुसन्धान गर्ने एक प्रहरी अधिकृतका अनुसार पीडित बालिका तीन दिनसम्म राम्रोसँग हिँड्नसमेत सकेकी थिइनन् र असह्य पीडामा रहेको देखिएको थियो ।
घटनाको अनुसन्धान सुरु हुँदै गर्दा आरोपित व्यक्तिहरू राम प्रवेश भन्ने प्रमेश कुमार यादव र राजकुमार चौधरी फरार भइसकेका थिए । प्रहरीले खोजी जारी राखे पनि उनीहरू दुवै जना फरार भएका कारण तत्काल पक्राउ गर्न सकेन ।
तत्काल भएको घटनामा पीडितको मेडिकल परीक्षण र औषधी उपचार गराइसकेपछि पीडित नाबालिग लहान ‘ख’ को घटना विवरण कागज गराइयो । कानुन व्यवसायी, पीडक र पीडकको परिवार कोहीसँग पनि सम्पर्क नभएको बेलामा पीडित बालिकाले दिएको बयानमा आफ्नो पीडा सबै उल्लेख गरेकी छिन् ।
उनले गरेको घटना विवरण कागजको केही अंश यस्तो छ :
‘सांकेतिक नाम ८० लहान ‘ख३’ मेरो दिदी नाताका व्यक्ति हुन् । प्रतिवादीहरू राम प्रवेश भन्ने प्रमेश कुमार यादव, राजकुमार चौधरी समेतसँग मेरो नाता सम्बन्ध रिसईबी, दुस्मनी, लेनदेन कारोबार र चिनजानसमेत थिएन । मेरो जन्मपश्चात् मेरो बुबाको मृत्यु भएपछि मेरो आमा दोस्रो विवाह गरी अन्त पोइल गएकीले म आफ्नो ठुलो बुबासँग पहाडको गाउँमा बसी तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नम्बर ….. स्थित रहेको …….. विद्यालयको कक्षा ७ मा अध्ययन गर्दै आइरहेको थिएँ । ठुलो बुबा आमाले मलाई हेला गर्न लागेकोले मिति २०८० सालको वैशाख महिना सकिन लागेको बेला पहाड गाउँबाट म भागी जिल्ला सुनसरी इटहरी उपमहानगर वडा नम्बर १० स्थितमा मेरो दिदी नाता पर्ने सांकेतिक नाम ८० लहान ‘ख३’ बस्ने कोठामा आई निज दिदीसँग बस्दै आइरहेको थिएँ, मेरो रेखदेख र पालनपोषणसमेत मेरो दिदीले नै गर्दै आएको हो ।’
उक्त बलात्कार प्रकरणको अनुसन्धान गर्ने एक प्रहरी अधिकृतका अनुसार पीडित बालिका तीन दिनसम्म राम्रोसँग हिँड्नसमेत सकेकी थिइनन् र असह्य पीडामा रहेको देखिएको थियो ……
‘….. दिदी बस्ने कोठा नजिकै मेरो आमा र सौतेला बुबासमेत कोठा लिई बस्ने गरेकोले कहिलेकाहीँ म आमाको कोठामा समेत जाने आउने गरेको थिएँ । मिति २०८०।०५।०६ गते बेलुका अन्दाजी १८ः०० बजेको समयमा आमाको कोठामा जान्छु भनी दिदीलाई भनी म आमाको कोठामा गई बसी बेलुका अन्दाजी ८।९ बजेको समयमा खाना खाइरहेको अवस्थामा सौतेला बुबाले यो कहाँबाट आई ? काम केही छैन, जति बेला तँलाई भात चाहिएको छ भनी मलाई कराएकोले मलाई रिस उठी खाइरहेको भातसमेत फाली आमाको घरबाट निस्की तनावले गर्दा इटहरी बजारमा आई मसँग रहेको रु. ३० मा एक गिलास लोकल रक्सी अस्थायी भट्टी पसलबाट खरिद गरी सेवन गरी हिँड्दै भाउजू नाता पर्ने डल्लीको घरमा गइरहेको थिएँ । बाटोमा मेरो चिनजानको साथी मेरो उमेरकै कमला चौधरी र निजको सानी आमा अञ्जली चौधरीसँग राति १० बजेको समयमा भेट भयो । हामी बाटोमा उभिई कुराकानी गरिरहेकै अवस्थामा मेरो साथी कमलाको सानी आमा अञ्जली आन्टीसँग सामान्य चिनजान रहेको ३ जना व्यक्तिहरू नम्बर थाहा नभएको सेतो रंङको स्करपियो गाडी लिई अञ्जली आन्टीलाई भेट्न आई उक्त गाडी चालकले हामीसँग घुम्न जाने हो भन्दा हामी तीनै जना हुन्छ भनी सोही गाडीमा म, कमला चौधरी र अञ्जली आन्टीसमेत सवार भई निजहरूसँगै सोही गाडीमा इटहरी बजारमा घुमिरहेको बेला गाडी चलाउने चालक पछि नाम, थर थाहा भएका राम प्रवेश भन्ने प्रमेश कुमारयादवले तिम्रो नाम के हो ? तिमी के काम गर्दछौ भनी मलाई सोध्दा मेरो बुबा छैन, आमा अन्तै पोइल गएकी छिन्, दिदीसमेत मलाई कराउँछिन्, कतै काम पायो भने काम गरी बस्ने, आमा र दिदीसँग नबस्ने भनी मैले जवाफ दिएपछि निजले मेरो धनगढी नगरपालिकामा मेरो होटेल छ, उक्त होटेलमा तिमी काम गर्ने हो भने आजै हामीसँग हिँड, तिमीलाई राम्रो काम लगाइदिन्छु, राम्रोसँग खान लगाउन दिन्छु भन्दा मैले हुन्छ भनेपछि हामी इटहरी बजार घुमी फर्किने क्रममा साथी कमला र अञ्जली आन्टी गाडीबाट झर्ने बेला तिमी पनि ओर्ल भन्दा म घर जान्न, अङ्कलहरूसँग काम गर्न जान्छु भन्दा निज अञ्जली आन्टीले तिमी जान मिल्दैन भनी मलाई सम्झाउँदा समेत म नमानी जान्छु भनी उक्त गाडीको अगाडीको सिटमा म बसेँ र बिचमा एक जना नाम, थर थाहा नभएको ३५।४० वर्षको पुरुष व्यक्ति र राजकुमार चौधरी गरी २ जना बिचको सिटमा बसी राम प्रवेश भन्ने प्रमेश कुमार यादवले गाडी चलाई राति अन्दाजी १० बजेको समयदेखि इटहरीबाट सोही गाडीमा सवार भई निजहरूसँगै म आएको थिएँ । आधी बाटोमा आएपछि एक जना पुरुष व्यक्ति गाडीबाट ओर्लिएर गयो । सोही राति मिति २०८०।०५।०७ गते बिहान ००ः३० बजेको समयमा जिल्ला सिराहा धनगढीमाई नगरपालिका वडा नम्बर ९ स्थित पिके होटेलमा निजहरूले मलाई ल्याई मसँगै आएका राजकुमार चौधरीले यो होटेल साहु राम प्रवेशको हो भनी गाडी चालक तथा उक्त होटेल सञ्चालक राम प्रवेश भन्ने प्रमेश कुमार यादवसमेत मिली मलाई उक्त होटेलको २ नम्बर कोठामा लगी राखी अब तिमी यही होटेलमा काम गर्ने हो भन्दा हुन्छ भनी उक्त कोठाभित्र रहेको बेडमा म सुत्न लाग्दाको अवस्थामा होटेल सञ्चालक तथा गाडी चालक राम प्रवेश भन्ने प्रमेश कुमार यादव म सुतिरहेको ओछ्यानमा आई मलाई जबरजस्ती अँगालोमा लिई करणी गर्न देऊ भन्दा म सानै छु, यस्तो म गर्न सक्दिन भन्दै रुन लाग्दा राजकुमार चौधरी र राम प्रवेश भन्ने प्रमेश कुमार यादवले सुईमा औषधी भरी ल्याई राजकुमार चौधरीले मलाई समाई राम प्रवेश भन्ने प्रमेश कुमार यादवले मेरो बायाँ पाखुरामा २ पटक सुई लगाउने प्रयास गर्दा मैले हुँदैन भन्दै रोई कराई गरेपछि निजहरूले सुई लगाउन छोडी राम प्रवेश भन्ने प्रमेश कुमार यादवले राजकुमार चौधरीको सहयोगमा बल जबरजस्ती मेरो सम्पूर्ण कपडाहरू खोल्यो र राजकुमार चौधरीले आफ्नो मोबाइलबाट भिडियो बनाइरहेको थियो । सोही बेडमा राम प्रवेश भन्ने प्रमेश कुमार यादवले मलाई नाङ्गै उत्तानो गरी सुताई निजले आफ्नो सम्पूर्ण कपडा खोली जबरजस्ती …….. पीडा सहन नसकी रोई कराई गर्दा निजहरूले मेरो मुख थुनी रुन कराउन समेत नदिई जबरजस्ती करणी गरेको र करणी गर्ने बेला राजकुमार चौधरीले भिडियो बनाएको हो । त्यसपछि राजकुमार चौधरी घर जान्छस् भनी गयो ।’
‘…राम प्रवेश भन्ने प्रमेश कुमार यादवले मलाई आफूसँगै सुताई बिहान ०५ः०० बजेसम्म पटक पटक गरी ५-६ पटक मलाई जबरजस्ती करणी गरेको हो । बिहान पख म यहाँ बस्दिन मलाई मेरो दिदीको घरमा पुर्याइदिनुहोस् भन्दा समेत निजहरूले पछि पुर्याईदिन्छु भन्दै गर्दा सोही दिनको अन्दाजी १०-११ बजेको समयमा मेरो दिदी सांकेतिक नाम ८० लहान ‘ख३’ले राजकुमार चौधरीलाई फोन गरी मेरो बहिनी कहाँ छ तुरुन्त ल्याई दिनु नत्र म प्रहरी केस गर्दछु भनेपछि राजकुमार चौधरी उक्त होटेलमा आई राम प्रवेश भन्ने प्रमेश कुमारयादवलाई भेटी यसलाई घर पठाई देऊ नत्र प्रहरी केस हुन्छ भन्दा निजले हुन्छ लानु भनेपछि राजकुमार चौधरीले आफनो मोटरसाइकलमा मलाई चढाई बेलुका ४ बजे मेरो दिदीको कोठासम्म पुर्याई निज भागी आएको हो । प्रतिवादी राम प्रवेश भन्ने प्रमेश कुमार यादवले रातभर मलाई करणी गरेकोले मलाई हिँड्न गाह्रो भइरहेको थियो, मेरो छातीमा नङले कोतरिएको दाग घाउहरू थियो र मेरो योनीभित्र समेत पोलिरहेको थियो । दिदीले कहाँ के गर्न गएको भनी सोध्दा मैले साथमा घटेको सम्पूर्ण घटनाहरू दिदीलाई बताएपछि दिदीले मलाई सोही दिन नजिकको प्रहरी कार्यालयमा लगी घटनाको जानकारी गराई प्रहरी मार्फत मेरो सांकेतिक नाम जि. १० IT-१०-२०-MG नाम राखी मेरो स्वास्थ्य परीक्षण समेत गराई ल्याई आफूसँगै आज यस कार्यालयमा ल्याएको हो ।’
होटेलमा काम गर्ने राजकुमार चौधरीले पनि पीडित नाबालिग र होटेलका साहु एउटै कोठामा बसेको पीडितकै बयान समर्थित हुने गरी बयान दिएका छन् ……
पीडितको दिदीको जाहेरी, पीडितको स्वास्थ्य परीक्षण आदिबाट घटना भएको पुष्टि भइसकेको थियो । प्रहरी घटनास्थल मुचुल्का बनाउन राम प्रवेश भन्ने प्रमेश कुमार यादवले सञ्चालन गरेको सिराहा धनगढीमाई नगरपालिका वडा नम्बर ९ जिरोमाइलमा रहेको पिके होटेलमा गएर खानतलासी गर्दा पीडितले जुन स्थानमा बलात्कार भएको थियो, सोही स्थानमा बलात्कार भएको हो भनी देखाइदिइन् । प्रहरीले खानतलासी गर्दा बलात्कार भएको भनिएको खाटमा कन्डमको प्याकेटहरू समेत भेटियो ।
प्रहरीले होटेलमै काम गर्ने राजकुमार चौधरी नै नाम गरेका व्यक्तिसँग बयान लियो । बयानमा चौधरीले पनि पीडित नाबालिग र होटेलका साहु एउटै कोठामा बसेको पीडितकै बयान समर्थित हुने गरी बयान दिएका छन् ।
चौधरीको बयानको केही अंश यस्तो छ :
‘… मिति २०८०।०५।०६ गतेका बिहान ८ बजेको समयमा होटेल साहु राम प्रवेश भन्ने प्रमेश कुमार यादव आफ्नो स्करपियो गाडी आफै चलाई होटेलमा मलाई ५ सय रुपैयाँ दिई मासु ल्याई पकाई बिक्री गर्नु म इटहरी जाँदै छु, राति आउन सक्छु भनी गएको थियो । उक्त दिन होटेलमा कुनै ग्राहक नआएकोले सदा झैँ बेलुकाको खाना पकाई खाना खाई राति २१ः३० बजेको समयमा उक्त होटेल बन्द गरी एक नम्बर कोठामा म एक्लै सुतिरहेको थिएँ । राति समय यकिन भएन १२।०१ बजेको बिचको समयमा होटेल साहु राम प्रवेश भन्ने प्रमेश कुमार यादवले ९८०७७९३xxx नम्बरको सिमबाट मेरो मोबाइल नम्बर ९८१२४१८xxx मा ३-४ पटक फोन गर्दा निन्द्राबाट म बिउँझिँदा होटेल अगाडि गाडीको हर्न बजिरहेकाले साहु आयो भनी होटेलको गेट खोली बाहिर निस्किँदा होटेल साहु चालक बस्ने सिटबाट ओर्लेको, अगाडिको सिटबाट हाल परिवर्तित नाम ८० लहान ‘ख’ र बिचको सिटबाट राजकुमार चौधरी ओर्ली होटेलमा आई किन फोन नउठाएको भनी तीनै जना २ नम्बर कोठामा गई बसी गफगाफ गर्दै होटेल साहुले २ ठाउँ नास्ता ल्याउनका लागि मलाई अर्डर गरेकोले दिउँसै ल्याएको मासु तताई चिउरा मासु २ वटा प्लेटमा राखी उक्त कोठामा पुर्याई दिएपछि होटेल साहुले तिमी सुत हामी नास्ता गरी सुत्छौँ भनी मलाई पठाइदिएकोले म एक नम्बर कोठामा आई सुतेको थिएँ । भोलिपल्ट बिहान ६ बजे उठ्दा उक्त होटेलको २ नम्बर कोठामा होटेल साहु राम प्रवेश भन्ने प्रमेश कुमार यादव र हाल संकेतिक नाम ८० लहान ‘ख’ मात्र थियो । राजकुमार चौधरी के कति बजे होटेलबाट गएको थियो मलाई थाहा भएन । त्यस पश्चात् केटी रोई कराई गरिरहेको थियो, मलाई दिदीको घरमा पुर्याई दिनुस् भन्दै गरेको मैले सुनेको थिएँ । होटेल साहुले राज कुमार चौधरीलाई बोलाई यसलाई पुर्याई देऊ भन्दा राज कुमार चौधरीले दिनको अन्दाजी १।२ बजेको समयमा आफ्नो मोटरसाइकल पछाडि केटीलाई राखी पुर्याउन गएको अवस्थामा मैले देखेको हुँ ।’
प्रहरीले घटनाको अनुसन्धानका क्रममा अञ्जली चौधरीसँग समेत बयान लिएको थियो । बयानमा अञ्जलीले पनि पीडित बालिकालाई काममा लगाइदिन्छु भन्दै लगेको कुरा अन्य घटना विवरणसँग मिल्ने गरी दिएकी छिन् ।

प्रहरीले उपलब्ध सबै व्यक्तिको बयान, स्वास्थ्य परीक्षण आदि सबै गराई मुद्दा दर्ताको तयारीका साथ राख्यो, तर पीडक फरार भएकाले तत्कालै मुद्दा दर्ता नगरी अनुसन्धान मै राख्यो ।
प्रमेश कुमार यादव एकाएक प्रहरी कार्यालयमा उपस्थित
घटना भएको ३४ दिनपछि फरार रहेका आरोपित राम प्रवेश भन्ने प्रमेश कुमार यादव एकाएक प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न उपस्थित भए ……
घटना भएको ३४ दिनपछि फरार रहेका आरोपित राम प्रवेश भन्ने प्रमेश कुमार यादव एकाएक प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न उपस्थित भए । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले सरकारी वकिलको सामुन्ने प्रमेश कुमार यादवको बयान लियो । बयानमा यादवले आफू घटना भएको भनिएको दिन भारतमा रहेको र त्यसको भोलिपल्ट मात्रै फर्किएको बयान दिए । बयानमा आफू होटेलमा पुग्दा पहिलेदेखि नै चिने जानेको साथी राम कुमार चौधरी र पीडित नाबालिग होटेलमा कुराकानी गरिरहेको देखेको र राजकुमारले मोबाइल मागेकाले मोबाइल दिएपछि पीडित बालिकाले निजको दिदीसँग फोनमा कुराकानी गरेको बयान दिएका छन् ।
प्रमेश कुमार यादव यादवको बयानको केही अंश यस्तो छ :
‘… मिति २०८०।०५।०६ गतेका दिन भारतको बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत कमलावारिमा काम विशेषले गई उतै बसेको थिएँ । सोको भोलिपल्ट अर्थात् मिति २०८०।०५।०७ गते बिहान अन्दाजी ८ बजेको समयमा भारतबाट फर्की म जिल्ला सिराहा धनगढीमाई नगरपालिका वडा नम्बर ९ स्थित रहेको म आफ्नो पिके होटेलमा आइपुगेको थिएँ । होटेलको कोठाहरूमा प्रवेश गरी हेर्दा २ नम्बर कोठाभित्र पहिलादेखि चिनजानको साथी राजकुमार चौधरी र जाहेरवालीको बहिनी सांकेतिक नाम ८० लहान ‘ख’ सँगै उक्त कोठाभित्र कुराकानी गरिरहेको अवस्थामा मैले देखेपछि निज राजकुमार चौधरीले मलाई देखी निजले मेरो मोबाइलमा ब्यालेन्स सकिएको छ, तपाईँ आफ्नो मोबाइल दिनु भनी मसँग मोबाइल मागेकोले मैले आफ्नो मोबाइल दिएकोले निज राजकुमार चौधरीले मेरो मोबाइलबाट भिडियो कल गरी जाहेरवालीको बहिनी सांकेतिक नाम ८० लहान ‘ख’ लाई मोबाइल दिएकोले निज सांकेतिक नाम ८० लहान ‘ख’ले मेरो मोबाइलबाट आफ्नो दिदीसँग कुराकानी गरिरहेको अवस्थामा म सोही कोठामा रहेको बेडमा बसी ढल्की सुतेको जस्तो गरी निज पीडितले आफ्नो दिदीसँग भिडियो कलमा कुराकानी गरिरहेको कुरा सुनी बसेको थिएँ । निज सांकेतिक नाम ८० लहान ‘ख’ ले कुरा गरिरहेको भिडियो राजकुमार चौधरीले आफ्नो मोबाइलबाट बनाउँदै थियो । पीडित सांकेतिक नाम ८० लहान ‘ख’ ले आफ्नो दिदीसँग भिडियो कलमा कुराकानी गर्दा निजले आफ्नो दिदीलाई मलाई केही भएको छैन, तिम्रो बहिनी जस्तो आएको थियो त्यस्तै छ, मलाई कोही कसैले केही गरेको छैन भन्दा निजको दिदीले तिमी त्यो मान्छेलाई तुरुन्त पुर्याई दिनु भन नत्र म प्रहरीमा केस गर्छु भन्दा निज पीडितले म यहाँ बस्दिनँ, मेरो दिदीको घर पुर्याई दिनुस् मेरो दिदीले मलाई गाली गर्नु हुन्छ भनेकोले निज राजकुमार चौधरीले हुन्छ म एक छिन पछि पुर्याइदिन्छु भनी सोही दिन बिहान अन्दाजी १०।११ बजेको समयमा मेरो साथी निज राजकुमार चौधरीले आफ्नो मोटरसाइकलमा सांकेतिक नाम ८० लहान ‘ख’ लाई बसाई पुर्याउन गएको थियो ।’
यहाँ आरोपित राम प्रवेश भन्ने प्रमेश कुमार यादव यादवले तीन वटा कुरा झूटो बोलेका थिए । उनले घटना भएको रात भारतमा थिएँ भनिएकामा निजको मोबाइल लोकेसनले नेपालमै रहेको निजको होटेलको लोकेसन देखाएको थियो । दोस्रो आफू आउँदा राजकुमार चौधरी र पीडित बालिका सँगै थिए भनेकामा पीडितकी दिदीले राजकुमार चौधरीलाई फोन गरेपछि राजकुमार चौधरी बिहान होटेल आएर कुरा गर्न भनेका थिए । तेस्रो राम प्रवेशको मोबाइलबाट कुरा गरेको भने पनि खासमा राजकुमार चौधरीकै मोबाइलबाट कुराकानी भएको प्राविधिक परीक्षणबाट खुलेको थियो । प्रमेश कुमार यादव यादवले झुटो बोलेको कुरा त उनकै होटेलमा काम गर्ने राजकुमार चौधरी (ख) ले दिएको बयानबाट पनि पुष्टि भएको थियो ।
पीडित र जाहेरवालीलाई होस्टायल बनाएपछि सेटिङमा प्रहरीमा आत्मसमर्पण
राम प्रवेश भन्ने प्रमेश कुमार यादव यादव पेसाले अवकाशप्राप्त प्रहरी सहायक निरीक्षक हुन् । नेपाल प्रहरीबाट सेवा प्रवेश गरेका यादव पछि सशस्त्र प्रहरीमा समायोजन भई २४ वर्ष जागिर खाएपछि २०७८ सालमा पेन्सन पाकेपछि स्वैच्छिक अवकाशमा गएका व्यक्ति थिए । जागिर छाड्दा पाएको रकम र स्करपियो गाडी भाडामा लगाएर आउने आम्दानीबाट उनको खर्च राम्रैसँग चलेको थियो ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जाहेरवाली र पीडितलाई जनही २।२ लाख रुपैयाँ दिएर अदालतमा बयान फेर्न लगाउने पक्कापक्की भएपछि आरोपित प्रहरीमा उपस्थित भई बयान गरेपछि अदालतमा उपस्थित गराइएको थियो ……
तर आफूले गरेको अपराधपछि जेलमा जानुपर्ने भयले उनी तत्काल भागेका थिए । तर जाहेरी परेर पीडितको बयान तथा स्वास्थ्य परीक्षणलगायतका सबै काम सकिएपछि जाहेरवाली र पीडितसँग नेगोसियसन गरी होस्टायल हुन तयार भएपछि उनी प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जाहेरवाली र पीडितलाई जनही २।२ लाख रुपैयाँ दिएर अदालतमा बयान फेर्न लगाउने पक्कापक्की भएपछि आरोपित प्रहरीमा उपस्थित भई बयान गरेपछि अदालतमा उपस्थित गराइएको थियो ।

२०८० असोज २४ गते सिराहा जिल्ला अदालतमा मुद्दा दर्ता हुँदा असोज २५ गते पूरक पेसीमा चढी बयान भई थुनछेक आदेश भएको थियो । थुनछेक आदेश हुँदा यस्तो जघन्य अपराधमा संलग्न भएको आरोपित र मौकामा फरार रही ढिलो गरी अदालतमा उपस्थित भएका व्यक्तिलाई जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटले धरौटीमा छाड्ने आदेश दिएका थिए, जति बेला पीडित र जाहेरवालीको बयान नै भएको थिएन ।
मौकामा फरार रही ढिलो गरी अदालतमा उपस्थित भएका व्यक्तिलाई जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटले धरौटीमा छाड्ने आदेश दिएका थिए ……….
सरकारी वकिलकै अस्वाभाविक चलखेल, सरुवा भइसक्दा पनि रमाना लिएनन् सरकारी वकिलले उक्त मुद्दामा अनावश्यक चलखेल गरेको आरोपसमेत लागेको थियो । तत्कालीन जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले आफू सरुवा भइसकेको भए पनि प्रमेश कुमार यादव यादव जोडिएको उक्त मुद्दा मिलाउन अनुसन्धान अधिकारीलाई समेत अनावश्यक दबाब दिएको प्रहरीकै दाबी छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीले लोकपथसँग भने, ‘मेरो हाकिममार्फत उक्त मुद्दामा यादवलाई जोगाइदिन जिल्ला न्यायाधिवक्ताले पटक पटक आग्रह गरेको र मुद्दा कमजोर बनाएर लगिदिन भनेका रहेछन् । मेरो हाकिमले पनि रिसाउँदै मलाई त्यो कुरा सुनाउनुभएको थियो । पछि अदालतमा सरकारी वकिल उपस्थित हुँदा पनि पीडककै पक्षमा हुने गरी बहस गरेका थिए ।’
यस सम्बन्धमा तत्कालीन जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यसँग कुराकानी गर्दा उनले आफ्नो सरुवा भए पनि अर्का जिल्ला न्यायाधिवक्ता नआइसकेका कारण रमाना नलिएको स्वीकार गरे । तर कुनै पनि मुद्दामा चलखेल नगरेको भन्दै आफू जहाँ गएर पनि उभिन सक्ने बताए ।
आचार्यले भने, ‘मैले कुनै प्रहरी अधिकारीलाई मुद्दा कमजोर बनाउन दबाब दिएको छैन, म ती प्रहरीसँग पनि कुरा गरौँला । सरुवा भई आउनुपर्ने जिल्ला न्यायाधिवक्ता नआइपुगेका कारण हस्तान्तरण गर्न नपाएर बसेको मात्रै हो ।’
‘बेन्च सपिङ’का लागि पटक पटक स्थगित

उक्त मुद्दामा अदालती प्रक्रिया पूरा भएपछि २०८० फागुन २ गतेदेखि नियमित पेसीमा चढेको देखिन्छ । फागुन २ गते न्यायाधीश आनन्दराज पन्तले साक्षी बुझ्ने आदेश गरे । त्यस लगत्तै साक्षी बुझ्ने काम भई मुद्दाको अंक पुग्यो । २०८० चैत २८ गते पेसीमा चढ्दा सरकारी वकिलले उक्त मुद्दा स्थगितका निवेदन दिई स्थगित भयो । त्यसपछि महेश खनाल, दुई पटक आनन्दराज पन्त र ज्ञानेन्द्र इटेनीको इजलासमा पेसी तोकिँदा प्रतिवादी प्रमेश कुमार यादव यादवको कानुन व्यवसायीको तर्फबाट मुद्दा स्थगित गराइयो । किनभने आनन्दराज पन्तलाई बलात्कारजस्तो मुद्दामा कठोर न्यायाधीशका रूपमा चिनिन्छन् भने ज्ञानेन्द्र इटेनी न्याय सेवाबाट आई मुद्दा बुझेका व्यक्ति भएकाले उनले पनि ठहर गर्ने दर बढी रहेको बुझिन्छ । यस्तो अवस्थामा दुई विकल्प भनेको कि कि शिवबहादुर रानाभाट वा मनोज केसी मात्रै प्रतिवादीका लागि अनुकूल न्यायाधीश थिए ।
न्यायाधीश केसीले हेरेनन् मेडिकल रिपोर्ट, देखेनन् मौकाको बयान

आफू अनुकूलको न्यायाधीश कुरेर बसेका प्रतिवादीले २०८१ असार १८ गते त्यो मौका पाए । न्यायाधीश मनोज केसीको इजलासमा उक्त मुद्दा पर्दा न्यायाधीश केसीले अभियुक्तले सफाइ पाउने फैसला सुनाए । नाबालिग बलात्कार जस्तो गम्भीर कसुर, प्रतिवादी मौकामा फरार रही सेटिङपछि अदालतमा उपस्थित भएको, मेडिकल रिपोर्टमा ‘ब्रुटल रेप’ देखिएको उक्त मुद्दामा न्यायाधीश केसीले अभियुक्तलाई निर्दोष देखे अनि सफाइ दिए ।

न्यायाधीश केसीले प्रतिवादीलाई सफाइ दिन लिएको आधारमा पीडितलाई आरोपितले जबरजस्ती करणी गरेको नभई पीडित अन्य कुनै व्यक्तिसँग यौन सम्बन्धमा रहेको देखिएको दाबी गरे ।
जाहेरवाली र पीडित होस्टायल हुन तयार भएपछि मात्रै अदालतमा उपस्थित भएका यादवको दबाबलाई जाहेरवाली र पीडितले पनि स्वीकार गरी जबरजस्ती करणी गरेको छैन, जाहेरी नै दिएको होइन भन्ने बयान अदालतमा दिन लगाइयो ।
न्यायाधीश केसीले पनि अन्य घटना विवरण कागज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडककै होटेलमा काम गर्नेको बयान, प्रतिवादीको कल डिटेल रेकर्ड आदि सबै बिर्सिएर जाहेरवाली र पीडितको होस्टायल बयानलाई मात्रै आधार र प्रमाणका रूपमा लिए ।
प्रतिवादीलाई सफाइ दिन न्यायाधीश केसीले लिएको आधारमा भनिएको छ,
‘पीडित परिवर्तित नाम ०८० लहान ‘ख’ ले बकपत्र गर्दा समेत म १९ वर्ष कि भएँ । राम प्रवेश भन्ने प्रवेशकुमार यादवले कुनै पनि मिति समयमा जबरजस्ती करणी गरेको छैन, उक्त मिति समयमा प्रवेशकुमार यादवसँग मेरो भेट भएको छैन । शारीरिक दाग जन्म जात हो । हस्तमैथुन गर्ने बानी भएर कन्या जाली च्यातिएको हुन सक्छ भन्ने समेत ब्यहोरा लेखाई दिएको देखियो’ भनी त्यसलाई आधार लिएका छन् ।
त्यसबाहेक प्रतिवादीलाई सफाइ दिन लिइएको आधारमा पीडित अन्य कुनै व्यक्तिसँग यौन सम्बन्धमा रहेको, पहिले नै गर्भपतन गराएको आदि कारणले प्रतिवादीले बलात्कार गरेको नभई अन्य व्यक्तिसँगको यौन सम्बन्धका कारण कन्या जाली च्यातिएको लगायतका आधार लिए । सोही कारणहरूलाई आधार लिई न्यायाधीशले प्रतिवादीलाई सफाइ दिए ।
तर न्यायाधीशले सुई लगाएको कुरा, प्रमेश कुमार यादवको कल डिटेल र लोकेसनको कुरा, होटेलमै काम गर्नेको कुरा र पीडित अध्ययन गरेकी विद्यालयबाट प्राप्त भएको जन्म मिति खुल्ने कुरालाई बेवास्ता गर्दै पीडित बालिग रहेको आदि जस्ता कुरा ल्याएर प्रतिवादीलाई सफाइ दिए ।
यसरी सिराहा जिल्लामा एक नाबालिगमाथि भएको गम्भीर प्रकृतिको अपराध र बलात्कारमा संलग्नलाई अदालतले सफाइ दिएको पाइएको छ । मौकामा फरार रही सबै सेटिङ मिलाएर अदालत आउने प्रतिवादीकै बयान र सेटिङलाई आधार मानी न्यायाधीश शिवबहादुर रानाभाटले धरौटीमा छाड्ने आदेश दिए भने पनि आफू अनुकूल न्यायाधीश परेको अवस्थामा न्यायाधीश मनोज केसीले प्रतिवादीलाई सफाइ दिए । अर्का फरार प्रतिवादीको सम्बन्धमा भने मुद्दा मुल्तबी मै राखियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया