सत्ता र प्रतिपक्षको आ–आफ्नै अडानले बन्धक बन्यो संसद, दुई दिन सारियो

लोकपथ
630
Shares

काठमाडौं । भिजिट भिसा प्रकरणले प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि सारिएको छ ।

आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर विपक्षी दलहरुले विरोधपछि ढिला गरि सुरु भएको बैठक आधा घण्टाका लागि सारियो । तर सत्ता र प्रतिपक्षी दलहरुको आ–आफ्नै अडानका कारण प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि सारिएको सभामुखको सचिवालयले जनाएको छ ।

जेठको पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयबाट भिजिट भिसाका नाममा मानव तस्करी हुने गरेको तथ्य बाहियो । त्यसमा गृहमन्त्री रमेश लेखकको समेत नाम जोडिएको भन्दै विपक्षीहरुले निरन्तर संसदमा अवरोध गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, विपक्षी दलहरु रास्वपा र राप्रपाले निरन्तर संसदमा विरोध जनाइरहेका छन् । मुख्य त विपक्षी दल रास्वपाले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग अघि सारेका छन् । तर माओवादी केन्द्र त्यसमा केही लचक देखिए पनि उक्त प्रकरणमा अनुसन्धान हुनुपर्ने अडान भने कायम राखिरहेको छ ।

यता सत्ता पक्षले भने उक्त प्रकरणमा गृहमन्त्रीको नाम नजोडिएको दाबी गर्दै राजीनामा दिनु नपर्ने र अनुसन्धान नै हुनु नपर्ने बताइरहेको छ । जसको कारण जेठको पहिलो साताबाटै संसद बैठक निर्वाध रुपमा बस्न सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?