काठमाडौं । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दल र सत्तापक्षबीच छलफल जारी छ । दलहरू आज पनि भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको सदनको गतिरोध अन्त्यका लागि छलफलमा जुटेका छन् । सत्तापक्ष र विपक्षी दलबीच छानबिन समिति बनाउन समझदारी भइसकेको भएपनि सहमति पत्रको भाषामा भने कुरा मिलिसकेको छैन ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘हामी छलफलमै छौँ । आजको संसद् बैठक सञ्चालनको विषयमा सहमतिको प्रयास जारी छ । हामीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्नेमा जोड दिएका छौँ । सत्तापक्ष यसमा तयार भइसकेको अवस्था छैन ।’
आज दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकअघि दलहरू सहमति जुटाउन तल्लिन छन् ।
माओवादी केन्द्रसहित प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आइरहेका छन् । उनीहरूले जेठ १५ मा बजेट प्रस्तुत गर्न भने दिएका थिए ।
उता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसा सेटिङ प्रकरणले प्रतिनिधिसभामा भइरहेको अवरोध खुलाउन सत्तारुढ दल नेपाली कांग्रेसले मध्यमार्गी प्रस्ताव अघि सारेको छ । शुक्रबारदेखि भइरहेका द्विपक्षीय वार्तापछि कांग्रेसले आइतबार साँझ मध्यमार्गी प्रस्ताव अघि सारेको हो ।
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरेले मध्यमार्गी प्रस्ताव तयार गरी भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेर प्रतिनिधिसभामा जेठ १३ गतेदेखि अवरोध गरिरहेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)सँग सहमतिका लागि प्रस्ताव गरेका छन् ।
‘हामीले सदनमा देखिएको गतिरोध समाधानका एउटा प्रस्ताव पेस गरेका छौँ । सहमतिका लागि विपक्षीहरू सकारात्मक भएको पाएका छौँ,’ कांग्रेस नेता कार्कीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया