चर्चित अमेरिकी र्‍यापर एमिनेमद्वारा मेटाविरुद्ध मुद्दा दायर, झन्डै ११ करोड डलर क्षतिपूर्ति माग

लोकपथ
1.8k
Shares

काठमाडौं । चर्चित अमेरिकी र्‍यापर एमिनेमले प्रविधि कम्पनी मेटाविरुद्ध मुद्दा दायर गरेका छन् । एक दर्जनभन्दा धेरै ग्रामी अवार्ड विजेता र्‍यापर एमिनेमले मेटाले इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपजस्ता प्लाटफर्ममा अनुमतिबेगर आफ्ना गीतहरू प्रयोग गरेको भन्दै मुद्दा दायर गरेका हुन् । उनले १० करोड ९० लाख डलरभन्दा बढी क्षतिपूर्तिको मागदाबी गरेका छन् । 

एमिनेमले आफ्नो म्युजिक पब्लिसिङ कम्पनी ‘एट माइल स्टाइल’ मार्फत मे ३० मा अमेरिकी अदालतमा मुद्दा दायर गरेका हुन् । मुद्दामा मेटाले २ सय ४३ वटा गीत अवैध रूपमा प्रयोग गरेको दाबी गरिएको छ ।

मेटाले आफ्नो ‘म्युजिक लाइब्रेरी’ मार्फत ती गीतहरू प्रयोगकर्तालाई उपलब्ध गराएको, त्यसलाई ‘ओरिजिनल अडियो’ र ‘रिल्स रिमिक्स’जस्ता फिचर प्रयोग गरी लाखौँ भिडियोहरूमा प्रयोग गरिएको मुद्दामा जिकिर गरिएको छ ।

‘हामीले अनुमति नदिएका गीतहरू पनि मेटाले स्टोर, पुनः प्रयोग र व्यावसायिक उपयोग गरी प्रतिलिपि अधिकारको उल्लंघन गरेको छ,’ मुद्दामा भनिएको छ ।

मेटाले भने संगीत साझेदारहरूसँग सम्झौता गरेरै गीत प्रयोग गरेको जनाएको छ । ‘हामीले एट माइल स्टाइलसँग इमानदारितापूर्वक वार्ता गरिरहेका थियौँ, तर उनीहरूले वार्ता छाडेर मुद्दा दायर गर्ने बाटो रोजे,’ मेटाका प्रवक्ताले द इन्डिपेन्डेन्टसँगको कुराकानीमा भनेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?