बिरामीको चाप बढेपछि बिपी क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

लोकपथ
427
Shares

काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुई वटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ  । 

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उनले जानकारी दिए । 

उनका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बीमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ,भने अन्तरङ्ग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ । 

डेकेयर फर्मेसीबाट विपन्नमार्फत् र नगदमा औषधि खरिद गर्न सकिने छ । भर्ना नभई कन केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने उनले जानकारी  दिए । 

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले बिरामीलाई औषधि किन्न पालो कुर्नुपर्ने  बाध्यतालाई न्यूनीकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताए । छिट्टै शल्यक्रिया कक्ष  र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी रहेको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?