समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैन : वामदेव गौतम 

लोकपथ
889
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले समाजवाद घोषणा गर्न अब ढिला गर्न नहुने बताएका छन् । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको बताए । समाजवादको बाटोमा हिँडे मात्रै समृद्ध बन्न सकिने भन्दै उनले अरू बाटोबाट हिँडे मुलुक गरिब र नेताहरू त्यहीँ गरिब जनतालाई ठग्ने भन्दा अरू नहुने बताए । उनले भ्रष्टाचार नगरी नेता नबाच्ने, चुनाव नजित्ने र राज्यलाई धोका दिनै पर्छ भन्ने बाटोमा मुलुक रहेको बताउँदै त्यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा केही कुराको अभाव नरहेको बताउँदै समाजवादको बाटोमा अगाडी बढ्ने काम गर्नुपर्ने बताए ।  

उनले भने, ‘समाजवाद घोषणा गर्ने बेला भयो, ढिला गर्नुहुँदैन । त्यही बाटोमा हिँड्नुपर्छ हामी समृद्ध हुन्छौँ । अरू बाटोबाट हामी गरिबको गरिब, गरिब जनतालाई ठग्ने नेता, त्यो भन्दा अरू हुँदैन । भ्रष्टाचार नगरी नेता बाँच्दैन, नेताले चुनाव जित्न पनि सक्दैन, केही न केही गर्नैपर्छ, राज्यलाई केही न केही धोका दिनै पर्छ, त्यस्तो बाटोमा लैजाने गरी आज जुन व्यवस्था भएको छ, त्यो व्यवस्था सबैलाई भ्रष्टाचार गर्न लगाउने व्यवस्था हो । यसलाई परिवर्तन गर्नुपर्छ । परिवर्तन गरेर अगाडी जाने काम गरौँ । अभाव केही छैन नेपालमा, सबै चिज नेपालभित्रै छ ।’

उनले संविधानमा समाजवाद लेखिए पनि कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?