विद्या भण्डारी एमालेमा फर्किने हल्लाबारे ओलीको टिप्पणी : ‘फलाना आउने अरे भनेर अर्को खेल खेलिँदैछ’

लोकपथ
1k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर टिप्पणी गरेका छन् । 

आइतबार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाधिवेशनको मिति नै घोषणा नभएको बेलामा भ्रमको पछि नलाग्न आग्रह गरेका हुन् । 

उनले पूर्व राष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने समाचार बाहिरिइरहेको बेलामा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले फलाना आउने अरे भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न आग्रह गरे । उनले गुट नै बनिसके भन्दै प्रचार गरिएको उल्लेख गर्दै गुटको कुरा गर्नेहरूको प्रतिकार गर्न निर्देशन दिए । 

पूर्व राष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै नभएको बताउँदै महाधिवेशन घोषणा पनि नभएको र महाधिवेशनमा के गर्ने भन्ने सरसल्लाह नै नभएको जिकिर गरे । बाहिर भ्रम फिँजाएर पार्टीलाई कमजोर बनाउने र पार्टी कार्यकताको मनस्थिति बिथोल्ने काम भइरहेको भन्दै यस्ता दुष्प्रयासलाई सोझै इन्कार गर्न निर्देशन दिए । 

प्रधानमन्त्री ओलीले भने, ‘अहिले हल्ला चलेको छ । तल तल यो ग्रुप भनेका छन् त्यो ग्रुप भनेका छन् । यो ग्रुप र त्यो ग्रुपको कुनै आवश्यकता छैन । यस्ता कुरालाई तपाईँहरूले सुन्ने बित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुस् । फलानाका ग्रुप, यसका ग्रुप त्यो छोडिदिनुस् । अर्को खेल हुन खोजेको छ यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो यस्तो । पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन । महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन । छलफल भएको छैन, अनि यो बाहिर बाहिरका हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरूलाई सोझै इन्कार गर्नुस् । यस्ता खालका कुरा नगर्न त्यस्ताहरूलाई जवाफ दिनुस् । स्टाटस, सिस्टाटसलाई पनि जवाफ दिए हुन्छ ।’

प्रधानमन्त्री ओलीले पार्टीका आन्तरिक कुरा भए पार्टीभित्र गर्न र सामाजिक सञ्जालबाट पार्टीलाई खुइल्याउने, होच्याउने, अपमान गर्ने काम नगर्न चेतावनी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?