काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले एमाले र नेपाली कांग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको र कुनै पनि समयमा नेतृत्वमा नरहन सक्ने बताए । अब १३ महिनापछि फेरि नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिने दाबी गरे ।
उनले एमालेको उद्देश्य मिसन ०८४ रहेको र यो अन्योल र अमूर्त कुरा नरहेको जिकिर गरे । मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने मिसन भएको बताए । प्रतिक्रियावादी शक्तिहरूले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली कांग्रेसलाई मिसन ०८४ भनेको छ, कांग्रेसलाई सिद्ध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ, भनेर खेल्ने काम गरिरहेको बताए । बहुमत ल्याउने दाबी कांग्रेसले पनि गरिरहेको र कसले ल्याउँछ भन्ने कुरा आफ्नो ठाउँमा रहेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले भने, ‘आज हामी सरकारको नेतृत्व गरिरहेका छौँ, कुनै पनि समय नेतृत्वमा हुँदैनौँ । अब १३ महिनापछि फेरि हामी नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिन्छौँ । हामीले सम्झौता गरेका छौँ । हाम्रो उद्देश्य मिसन ०८४ यो कुनै अन्योलको अमूर्त कुरा होइन । मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई, यो देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने हो । यो राष्ट्रिय शक्ति त छँदैछ । तर यसलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्छ, मिसन ०८४ मा । त्यस उद्देश्यका साथ हामी अघि बढेका छौँ । हाम्रा विरोधीहरूले प्रतिक्रियावादी शक्तिहरूले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली काँग्रेसलाई मिसन ०८४ भनेको छ, काँग्रेसलाई सिद्ध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ, भनेर खेल्न खोज्छन् । नेपाली कांग्रेसले पनि बहुमत ल्याउँछु भन्छ हामीसँग सहकार्य गर्दा गर्दै पनि । हामी पनि भन्छौँ, बहुमत ल्याउँछौँ । कसले ल्याउँछ त्यो आफ्नो ठाउँमा होला । तर बहुमत ल्याउने दाबी अनेकले गर्दछन् । यतिसम्म की प्रचण्ड त उहाँ ०६४ सालको जस्तै लहर आइसक्यो भनेर के सपना देखिरहेका छौँ । हामी त वास्तवमै मजबुत राष्ट्रिय शक्तिको रूपमा छाँै, लोकप्रिय पार्टीको रूपमा छौँ ।’
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समेत ०६४ सालको जस्तै लहर आइसक्यो भन्ने गरेको र बहुमत ल्याउने सपना देखेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया