माओवादीलाई सांसद निधीको आग्रह :‘संसदीय प्रणालीमा आइसक्नुभयो, अब नियमानुसार सभा सञ्चालन गर्न दिनुस्’ 

लोकपथ
483
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सँग आग्रह गरेका छन् ।  

आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३औँ पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्ने कुरा निर्भर रहेको बताए । 

संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिन आग्रह गरे । उनले भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र छानबिन भइरहेको बेलामा राजीनामा माग गरेर संसद् अवरुद्ध गराउनु राम्रो कुरा नभएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथिको जस्तो मुद्दा नरहेको र वर्तमान गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप समेत नलागेको उनको भनाइ छ ।  

सांसद निधीले भने, ‘संसद् अहिले अवरुद्ध छ । प्रतिपक्षीले अवरोध गरिरहेको छ । अब यो घडीमा आएर माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्ने रहेको छ । म के अपिल गर्न चाहन्छु, राधेश्यामजीको निरर्थक हत्या भयो । १० वर्षपछि निधन भए पनि । संसदलाई माओवादीकै तर्फबाट अवरोध गर्ने काम गर्नु भएन भनेर म मोवादीसँग आग्रह गर्न चाहन्छु । यहाँ छानबिन हुँदैछ । अख्तियारले छानबिन गरिरहेकै छ यो भिजिट भिसाको बारेमा । रास्वपाका नेताको जस्तो विषय होइन यो । रास्वपाको नेतालाई त छानबिन गर्दै गर्दा अनुसन्धान गर्दै गर्दा बोलेकै थियो । रवि लामिछानेको घटनामा तपाईँमाथि यस्तो भनिएको छ, तपाईँ किन बोल्नुहुन्न भन्ने तर्क तपाईँको यसमा लागू हुँदैन । तर्क नै छैन । छानबिन भइरहेको बेलामा राजीनामा माग गरेर संसद् अवरुद्ध गराउनु राम्रो कुरा होइन । माओवादी नेताहरूलाई म आग्रह गर्दछु, समाचारमा आइरहेको छ, लचक भइरहेको छ रे, कुन चाहिँ लचक हो थाहा छैन । अब प्रतिनिधि सभा संसदीय प्रणालीमा तपाईँहरू आइसक्नुभएको छ । संसदीय प्रणालीको अनुसार त्यसलाई सञ्चालन गर्ने कुरामा सहयोग गर्नुपर्छ ।’

उनले राजा फर्काउने कुरा निरर्थक रहेको बताए । नेपाली जनताले पटक पटक राजालाई साथ दिएको भन्दै जति साथ दिए पनि त्यसको बदलामा जनताको अधिकार खोसेर धोका दिएको उनको भनाइ छ  । नेपालमा राजतन्त्र नचाहिने भन्दै राजतन्त्र फर्किन नदिने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?