सदन खुलाउन सभामुखको पहल : अन्य दलको आ–आफ्नै अडान, माओवादी ‘सफ्ट कर्नर’ मा

लोकपथ
1.3k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

सभामुख घिमिरेले सिंहदरबारमा आज बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

सभामुख घिमिरेले राजनीतिक दलहरूबिच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाए । संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे ।

प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए ।

सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याए ।

यता भिटिज भिसामा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै विपक्षीहरुले राजीनामा मागिरहेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र भने अनुसन्धान अघि बढ्नुपर्नेमा अडिग रहे पनि गृहमन्त्रीको राजीनामाको विषयमा भने थप लचक देखिएको छ । अन्य विपक्षी दलहरु रास्वपा र राप्रपाले भने गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन समितिको माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?