डंकी रुटबाट अमेरिका पुगेका ३७ नेपालीलाई चार्टर विमानबाट नेपाल ल्याइँदै

लोकपथ
3.2k
Shares

काठमाडौं । अमेरिकाको अध्यागमन विभागले डंकी रुटबाट अमेरिका पुगेका ३७ नेपालीलाई आइतबार चार्टर विमानबाट नेपाल ल्याउँदै छ । आइतबार अपराह्न अमेरिका सरकारले चार्टर विमानमार्फत उनीहरूलाई नेपाल ल्याएर छाड्न लागेको हो ।

अध्यागमन विभाग श्रोतका अनुसार मेक्सिको लगायतका देश हुँदै हिँडेरै अमेरिका पुगेर डिटेन्सन सेन्टरमा रहेकामध्ये ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको हो । अमेरिकाले डिपोर्ट गरी आज नेपाल आइपुग्ने ३७ जना नेपालीमध्ये ३२ जना पुरुष र पाँच जना महिला रहेका छन् ।

अमेरिकाको डिटेन्शन सेन्टरमा सामान्यतया आप्रवासनसम्बन्धी कानुनी प्रक्रिया पूरा नभएका व्यक्तिहरूलाई राख्ने गरिन्छ । भिसा बिना नै अमेरिका प्रवेश गरेका, अमेरिकामा भिसाको अवधिभन्दा बढी समय बिताएका अर्थात् ओभरस्टे भएका, अवैध रूपमा प्रवेश गरेका व्यक्तिहरूलाई राख्ने गरिन्छ । उक्त सेन्टरमा शरणार्थी तथा शरण माग्नेहरू र कहिलेकाहीँ आपराधिक मुद्दामा संलग्न भएका विदेशी व्यक्तिहरूलाई पनि राख्ने गरिएको हुन्छ ।

यसरी अवैध बाटोबाट अमेरिका प्रवेश गरेका र गलत कार्यमा संलग्नहरूलाई अमेरिकाको यूएस इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (आइसीई) नामक संघीय एजेन्सीले नियन्त्रणमा लिई हिरासतमा राख्ने गर्दछ, जसलाई डिटेन्सन सेन्टर भनिन्छ । त्यस केन्द्रमा रहेकाहरूले त्यहीँबाट मुद्दा लडेर अमेरिकामै बस्न माग गर्दछन् । उनीहरूले अदालत वा संघीय निकायबाट अमेरिकामै बस्न कानुनी अनुमति पाएमा त्यहीँ बस्न सक्छन् भने अनुमति नपाएमा डिपोर्ट हुने गर्दछन् ।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए लगत्तै अमेरिका फर्स्ट नीति लिएका छन्, जहाँ अवैध बाटोबाट अमेरिका प्रवेश गरेका, अमेरिकामा आपराधिक वा गलत कार्य गरेका र अमेरिकाको हित विपरीत कार्य गर्नेहरूलाई डिपोर्ट गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?