काठमाडौं । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र मनसुनी प्रणालीको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहे पनि कोशी प्रदेशमा मनसुनी वायु सक्रिय छ।
आज दिउँसो कोशी र मधेस प्रदेश सहित देशका अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै, कोशीका केही स्थानहरू तथा मधेस, बागमती, र गण्डकी प्रदेशका पहाडी भागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसैगरी, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।
आज रातिको मौसम पनि प्रायः यस्तै रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भागहरूमा हल्का हिमपातको सम्भावना यथावत् रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक यातायात तथा हवाई उडानहरूमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया