काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले विभिन्न समयमा दिइरहेको तालिमले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् ।
काठमाडौं महानगरपालिकाद्वारा आयोजित सीप मेला २०८२ को अवलोकनका क्रममा मुख्यमन्त्री लामाले सीप सिकेकाहरुलाई प्रमाणपत्र दिने र उनीहरू कहाँ के गर्दैछन् भनेर डाटा राख्नुपर्ने बताएका हुन् ।
उनले संख्या तोकेरै तालिम दिइयो भने पनि सिस्टम नबनाइँदा तालिम प्राप्त जनशक्ति कहाँ छन् र के गरिरहेका छन् भन्ने थाहा पाउन नसकिने अवस्था रहेको स्पष्ट पारे ।
सीटीइभीटीको अवधारणाअनुसार तालिम लिएकाहरूलाई प्रमाणपत्र दिने, तालिम प्राप्त व्यक्तिहरू कहाँ कहाँ छन् भन्ने जानकारी राख्नका लागि डाटा राख्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री लामाले सिस्टम नहुँदा तालिमप्राप्त व्यक्तिका बारेमा जानकारी नभए पनि तालिम लिएकाहरू पनि उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘पहिला पहिला मन्त्रालय/मन्त्रालयले तालिम दिने गरेको थियो । तालिमहरू त दियो तर सिलाइ बुनाइको मात्र सुनेको थिएँ । अहिले पनि सिलाइ बुनाइको तालिम हुन्छ । तर, त्यो तालिम सरकारले धेरै देखिएको छ । सरकारले दिएको तालिमले अहिलेसम्म सार्थकता पाएको छैन । जुन अहिले सिटिइभीटीको अवधारणा प्रमाणपत्र पनि दिने, उसले तालिम दिएका मानिसहरू कहाँ कहाँ छन् भनेर डाटा राख्नुपर्यो । तर मैले यति जनालाई सीप तालिम दिएँ भनेर भनिएको छ तर त्यो मानिस कहाँ छन् भनेर मैले मागिरहेको छु । यसले गर्दा तालिम दिइसकेपछि तालिम प्राप्त गर्नेहरू कहाँ कहाँ छन् भनेर थाहा पाउन डाटा राख्नुपर्यो । यहाँबाट सीप सिकेको भनेर तालिम लिनेहरुपनि उत्तरदायी बन्नुपर्छ । भ्रष्टाचार भयो भनेर धेरै समाचारहरू आउँछन् तर नियन्त्रण विधि भने कसैले भन्दैन । भ्रष्टाचार नियन्त्रण गर्ने विधि भनेको पर्सनल डाटा राख्ने गर्नुपर्छ । जस्तो कि तपाईँको पुलिस रिकर्ड, तपाईँले गरेको व्यवसायको नाफालगायतलाई सिस्टममा डाटा राख्ने कार्य गर्नुपर्छ । राज्य र सरकारले थाहा पाउने गरी डाटा सिस्टम बनाउने हो भने भ्रष्टाचारपनि नियन्त्रण गर्न सकिन्छ ।’
उनले राज्य र सरकारलाई जानकारी हुने गरी व्यक्तिगत डाटा सिस्टमको विकास गर्ने हो भने भ्रष्टाचार पनि नियन्त्रण गर्न सकिने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया