पार्टी पदाधिकारीलाई शेखर कोइरालाको प्रश्न : महाधिवेशन किन समयमै नहुने ? 

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग गरेका छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी पदाधिकारीको जवाफ माग गरेका हुन् । 

उनले नेपाली कांग्रेसको विधानमा ४ वर्षमा गर्नुपर्ने प्रावधान रहेको बताए । यस पटक के ले महाधिवेशन रोक्यो ? भन्दै प्रश्न गरे । महाधिवेशन रोक्नुपर्ने कारण के हो ? भनेर कार्यकर्ताहरूले प्रश्न गर्न सक्नुपर्ने बताए । 

सांसद कोइरालाले भने,‘अहिले त ठिकै छ, अधिवेशन हुन्छ, कहिले हुन्छ थाहा छैन । नेपाली कांग्रेसको विधानमा ४ वर्षमा अधिवेशन गर्नुपर्ने भनेको छ । केले रोक्यो यस पटक ? किन रोकिँदैछ ? यसको जवाफ पदाधिकारीले दिने की नदिने भन्ने हाम्रो प्रश्न छ । यो ठुलो प्रश्न छ । केही त्यस्तो घटना त देशमा भएको छैन, नेपाली कांग्रेसमा केही भएको छैन, किन ४ वर्षभित्र अधिवेशन हुन सकेन ? सक्दैन ? मंसिरमा हुनुपर्ने हो नि । ४ वर्षमा हुन सकेन भने ता पनि भनेर एउटा वाक्यमा भनिदिएको छ एक वर्ष थप्न सक्ने । तपाईँहरूले पदाधिकारीलाई प्रश्न गर्नुस्, के कारणले थप्ने भनेर किन प्रश्न गर्न सक्नुहुन्न ? सक्नुपर्छ नि त । समयमा अधिवेशन हुनुपर्छ । त्यो समय भनेको ४ वर्ष हो । सधैँ नेपाली काँग्रेसलाई यसै गरी चलाउने हो भने नेपाली कांग्रेसको भविष्य कमजोर हुन्छ । अहिले हामी लार्जेस्ट पार्टी छौँ, तर हामी कहाँ छौँ ? तीन वर्षदेखि कहाँ छौँ ? सोच्नुभयो, सोध्नुभयो, किन यस्तो भइरहेको भनेर ? लार्जेस्ट पार्टी भइसकेपछि ढाइ वर्षदेखि हामी कहाँ छौँ ? कसैले कसैलाई प्रश्न गर्दैनौँ । नेताहरूलाई जबसम्म कार्यकर्ताहरूले प्रश्न गर्न सक्नुहुन्न कार्यकर्ताहरू दास हुन्छन् । तपाईंहरु कसैको दास होइन । यो कुरा गम्भीरतापूर्वक बुझ्नुस् । ’ सांसद कोइरालाले नेपाली कांग्रेस कमजोर नरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?