काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरू संवेदनशील बन्नुपर्ने बताएकी छन् ।
राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहदानी सेवामा कार्यरत कर्मचारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज धनगढीमा सम्बोधन गर्दै उनले सो धारणा राखेकी हुन् ।
उनले भनिन्, ‘राहदानी अब नागरिकको कुनै विलासिताको वस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको छ । त्यसैले यो सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बस्ने यहाँहरू सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ । सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भई दिनुहोला ।’
उनले यस्तो संवेदनशील सेवा दिने ठाउँमा बसेका कर्मचारीहरूले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र के कसरी उनीहरूलाई छिटोछरितो र सहज सेवा दिन सकिन्छ भनेर सोच्नुपर्ने सुझाव दिइन् ।
अझ सुदूरपश्चिम तथा यस्तै दुर्गम जिल्लामा दिइने सेवालाई त झन् कसरी सहज र नागरिकको पहुँचयोग्य बनाउने भन्ने बारेमा सरकार प्रयत्नशील रहेको मन्त्री डा.राणाले बताइन्।
उनले भनिन, ‘राहदानी लिनका लागि पहिलेजस्तो जटिल अवस्था अहिले छैन । तर पनि सेवा प्रदान गर्ने समय र वितरणका क्रममा केही समस्या आउने गरेका मैले सुनेकी छु । सरकारी सेवा जतिसक्दो चाँडै पाइयोस् भन्ने अपेक्षा जनताले राख्नु स्वभाविकै हो । यसै बमोजिम सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउनु सरकारको कर्तव्य हो र यसका लागि यहाँहरूकै भूमिका बढी रहन्छ ।’
मन्त्री डा.राणाले राहदानीसम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाहरूका नागरिकलाई अझ सहज र पहुँचयोग्य कसरी बनाउने भनेर सरकारलाई सुझाव दिन आग्रह गरिन् ।
उनले भनिन्, ‘पासपोर्टमा जनतालाई परेका समस्या र त्यसमा गर्न सकिने सुधारका लागि यहाँहरूले सरकारलाई सुझाव दिन सक्नुहुनेछ । त्यसमा सरकारले समयानुकूल सुधार गर्दै लैजानेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया