काठमाडौं । सभामुख देवराज घिमिरेले आइतबारदेखि संसद् सञ्चालनमा आउने संकेत गरेका छन् । सभामुख घिमिरेले आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका हुन् ।
सत्तापक्ष र प्रतिपक्षबिच संवाद बढेसँगै संसद् गतिशील बनाउने सहमति नजिक पुगेको सभामुखको भनाइ छ । उनले सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूबिचको छलफलपछि संसद् अवरुद्ध अवस्थाको अन्त्य हुने बताए ।
उनले प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको संकेत दिँदै यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए । व्यवस्थाकै विरुद्धमा जाने दलहरूले संसद् गतिरोधका कारण खुच्चिङ भनिरहेको उल्लेख गर्दै उनले संसदीय दलभित्रका नेताहरूले यसबारे सोच्न जरुरी रहेको बताए ।
उनले भने, ‘संसद् सञ्चालन गर्ने जिम्मेवारी सभामुखको जत्तिकै प्रतिपक्षी र सत्तापक्षको पनि हुन्छ । सत्तापक्ष र प्रतिपक्षबिच गम्भीरतापूर्वक बहस नहुनु चिन्ताको विषय हो । सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूबिचको छलफलले परिणाम दिन्छ । आजको संसद्मा हामी अत्यन्त जरुरी सूचनाहरू सुनाउनुपर्ने देखि लिएर विभिन्न काम कारबाहीहरू गर्नुपर्ने थियो । तथापि हामी संसद् सुचारु गर्नको लागि हामी निष्कर्षका पुग्दैछौँ । निश्चय पनि शीर्ष तहका नेताहरूबिच छलफल भएपछि आइतबारदेखि संसदको गतिरोध अन्त्य हुनेछ । फेरि अहिले संसदीय दलभित्रका नेताहरूले के सोच्नुपर्ने परिस्थिति छ भने यो व्यवस्थाकै विरुद्धमा जाने दलहरूले पनि खुच्चिङ भनिरहेका छन् । यस्तै हो भन्ने उनीहरूको भनाइ छ । अर्को भाषामा भन्ने हो भने प्रतिगामी शक्तिहरू सल्बलाइरहेको बेला छ । यस्तो बेलामा आएका समस्याहरूलाई समाधान गर्दै संसदलाई अझै प्रभावकारी पार्ने कुराहरूमा सत्ता प्रतिपक्ष मिलेर जाने कुराको महसुस गर्नुभएको छ । यस्ता कुरामा म उहाँहरूलाई अगाडि बढ्नको लागि शुभकामना पनि व्यक्त गर्न चाहन्छु । आइतबारको संसद् अगाडि बढ्ने सहमति बनोस् ।’
प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबिच छलफल हुने बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बद्मासीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आवश्यक छानबिन हुनुपर्ने मागबाट पछि हट्न नखोजेपछि शीर्ष तहमा छलफल हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया