आइतबारदेखि प्रतिनिधि सभाको बैठक सहज ढंगले अघि बढ्छ : प्रमुख सचेतक बर्तौला

लोकपथ
364
Shares

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आइतबारदेखि प्रतिनिधि सभाको बैठक सहज ढंगले अगाडी बढ्ने बताएका छन् । शुक्रबार नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी दिनहरूमा संसद् भवन आउने, सूचना टाँस गर्ने र फर्कने अवस्था नबन्ने बताए । उनले प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने र नगरौँ भन्दा नहुने अवस्थाको सिर्जना हुन नदिने समेत जिकिर गरे । मुख्य सचेतक बर्तौलाले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा जोडिनुपर्ने आवश्यकता रहेको बताए । उनले कानूनहरू पारित गर्नुपर्ने कार्यभार रहेको जिकिर गरे ।

साथै, उनले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल नभएको बताउँदै बजेटलाई पारित गर्नुपर्ने दिशामा जानुपर्ने जिम्मेवारी रहेको समेत जिकिर गरे । उनले आगामी आइतबारदेखि प्रतिनिधि सभाको बैठक नियमित र सहज ढंगले सञ्चालन हुने बताए ।
उनले भने, ‘आइतबारदेखिको बैठक सहज ढंगले अगाडी बढ्छ । यहीँ हिसावले हरेक दिन आउने, सूचना टाँस गरेर फर्किरहने, प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने, नगरौँ भन्दा नहुने भन्ने कुराको दिनको रिपिटेशन सधैँ हुने अवस्था बन्दैन । संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा पनि हामी जोडिनुपर्छ । कानून पारित गर्नुपर्ने कार्यभार छन् । बजेटमाथि छलफल भएको छैन, त्यसलाई पारित गर्नुपर्ने दिशामा जानुपर्छ । आगामी दिनहरूमा पनि यस्तै परिस्थितिहरू आउने, सूचना टाँस गर्ने, फर्कने अवस्था बन्दैन । हाउस अगाडी बढ्छ ।’ उनले प्रतिपक्षीलाई पेलेर जाने कुरा वर्तमान सरकारको शब्दकोषमै नरहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?